काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले निर्वाचन आचारसंहिता उल्लङ्घन भइरहेको घटनाप्रति आज निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ।
पार्टीका संसदीय दलका उपनेता सुवास नेम्वाङको नेतृत्वमा गएको टोलीले प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादव र अन्य आयुक्तसमक्ष आचारसंहिता उल्लङ्घन भएका घटनाहरु बारे जानकारी गराउँदै त्यस विषयमा छलफलसमेत गरेको हो।
निर्वाचनको मिति घोषणा र आचारसंहितासमेत लागू भइसकेको अवस्थामा गृहमन्त्री नेपाली सेनाको हेलिकोप्टर चढेर राज्यका तर्फबाट चेक हस्तान्तरण गर्ने र त्यसै सिलसिलामा नेपाली काँग्रेसको कार्यक्रममा सहभागी हुने कार्यले आचारसंहिताको पालना भयो की भएन भनी एमालेका तर्फबाट प्रश्न गरिएको थियो। सो पार्टीले बजेट कल्पना गर्न नसकिने ढङ्गबाट रकमान्तर भएको र नयाँनयाँ योजनामा बजेट रकमान्तर भएको बारे पनि गम्भीरतापूर्वक अध्ययन गर्न आयोगलाई ध्यानाकर्षण गराएको नेता नेम्बाङले जानकारी दिए।
म्यादी प्रहरीको भर्नाको वस्तुनिष्ट र पारदर्शीताको आधार स्पष्ट हुन जरुरी रहेको बताउँदै एमालेले यस विषयमा निरन्तर अनुगमन गर्न तथा मतदान केन्द्रसमेत सर्वदलीय सहमतिका आधारमा मात्र तोक्न आयोगलाई भनेको छ।
टोलीमा प्रमुख सचेतक भानुभक्त ढकाल, पूर्वमन्त्रीद्वय राजेन्द्र पाण्डे र अग्नि खरेल तथा सांसद डा. राजन भट्टराई सहभागी थिए। रासस