PahiloPost

May 31, 2025 | १८ जेठ २०८२

साझाका बस एक साताभित्रै भक्तपुरमा गुड्ने, रुट इजाजत केही दिनमै, सुरक्षा दिने तयारी



पहिलोपोस्ट

साझाका बस एक साताभित्रै भक्तपुरमा गुड्ने, रुट इजाजत केही दिनमै, सुरक्षा दिने तयारी

दिनेश खडका 

काठमाडौं
: साझा यातायातले यही चैत २० सम्ममा भक्तपुरका लागि रुट इजाजत पाउने भएको छ। यातायात व्यवस्था विभागका अनुसार इजाजपत्रको काम अन्तिम चरणमा रहेकाले केही दिनभित्रै साझाले अनुमति पाइसक्नेछ ।

स्वच्छ प्रतिस्पर्धाबाट कानुनी हिसावले आएमा रुट इजाजत दिने व्यवस्था भएकाले साझालार्इ रुट दिने तयारी अन्तिम चरणमा रहेको विभागले जनाएको हो। साझा कानुनी र स्वस्थ प्रतिस्पर्धामा आएकाले स्थलगत अध्ययन र परिक्षण पछि रुट इजाजत दिन लागिएको बिभागले जनाएको छ।

साझाका निमित्त  कार्यकारी प्रमुख महेन्द्रराज पाण्डेले यातायातले कानुनी प्रक्रिया पूरा गरेर गएकाले रुट दिन तयार भएको बताए। उनले साझा भक्तपुरका यात्रुका लागि सेवा दिन तयार रहेको र रुट इजाजत पाउने वित्तिकै सञ्चालन गर्ने बताए। उनले यही चैतको तेस्रो सातासम्म साझाका बस भक्तपुरमा गुड्ने जानकारी दिए।

साझाले भक्तपुरका दुइवटा रुटमा २० वटा बसका लागि यातायात कार्यालयसँग फागुन ३० गते रुट माग गरी आवेदन दिएको थियो। यातायातले सुरक्षाको कारणले गर्दा रुट इजाजत दिन केही ढिला भए पनि सुरक्षाको प्रत्याभूति भएपछि सेवा सुरु गर्न लागिएको बताएको छ।

यातायात ब्यवस्था विभागले दिएको जानकारी अनुसार भक्तपुरका प्रमुख जिल्ला अधिकारीले सुरक्षाको प्रत्याभूति दिएकाले  साझाले बस सेवा सुरु गर्न लागेको हो। बिभागका अनुसार चैत २० सम्ममा साझाले भक्तपुरको रुट इजाजत पाउनेछ।


साझाले मागेको रुट कुन कुन?

अब काठमाडौंको कलङ्की- कालीमाटी- त्रिपुरेश्वर- सुन्धारा रत्नपार्क - पुतलीसडक - सिहदरबार - माइतीघर - बबरमहल - नयाँ बानेश्वर - मीनभवन हुँदै भक्तपुरतिर जानेछन्। दशवटा बस सञ्चालित यो रुटमा थप दशवटा बस आउनेछन् ।

दशवटा बसहरु जडिबुटीको बाटो भएर पुरानो ठिमी हुँदै कमलविनायकको बाटो फर्कनेछन्। अरु दशवटा बस भने जडिबुटीबाट नयाँबाटो कमलविनायक हुँदै पुरानो बाटोबाट रत्नपार्क फर्कनेछन्।


व्यवसायीको दादागिरी कायमै 

व्यवसायीहरुले भक्तपुरमा आफ्नो एकाधिकार तोडिने भन्दै विरोध जनाउँदै आएका छन्।

साझा बस गत दशै अगावै चल्ने हल्ला चलेपछि भक्तपुर मिनिबस सेवा समितिले साझालार्इ भक्तपुरमा छिर्न नदिने निर्णय गरेका थिए।
गत फागुनमा साझा यातायातले रुट इजाजतका लागि लिखित रुपमा यातायात व्यवस्था विभागमा आवेदन दिएको थियो। यस लगत्तै भक्तपुरका बस व्यवसायीले इजाजत रोक्न दबाब दिँदै आएका छन् ।
 

उपत्यकाका सबै रुटमा साझा बस चलाउन यात्रुको माग


साझाका बसहरु उपत्यकाका सबै रुटमा सञ्चालन हुनुपर्ने माग जताततै बढ्न थालेको छ। यात्रुमैत्री ठूला बसहरुबाट सेवा दिइरहेको  साझाले ३ सय ६५ दिन नै सेवा दिन थालेपछि सबैतिर माग बढ्न थालेको साझाका निमित्त कार्यकारी प्रमुख महेन्द्रराज पाण्डेले बताए। साझाले बन्द, हडताल जस्ता दिनहरुमा समेत आफ्नो सेवा दिने गरेकाले यात्रुहरुले साझाको सेवा रुचाएका हुन्।

विहान ६स्३० बजेदेखि बेलुका ८ बजेसम्म ननस्टप चल्ने भएकाले पनि साझाको माग बढ्दै गएको हो। अरु गाडीहरु मन लाग्दा चलाउने, गन्तव्यसम्म नपुर्याइ यात्रुलाइ छोड्ने जस्ता कारणले पनि साझाको माग बढ्दै गएको  हो।

पछिल्लो समय रातको समयमा समेत बसहरु सञ्चालनमा आएपछि साझा अझ लोकप्रिय भएको छ। भक्तपुरमा पनि साझाका बसहरु चल्नुपर्ने भक्तपुरका यात्रुहरुले माग गर्दै आए पनि ब्यवसायीहरुले भने एकाधिकार खोसिने डरले बिरोध गर्दै आइरहेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell