
काठमाडौं : नेपाल र हङकङमा दुवै टोली बंगलादेशमा भइरहेको एसीसी इमर्जिङ कपको समूह चरणबाटै बाहिरिसकेका छन्। समूह बी रहेको नेपाल र हङकङ बंगलादेश र पाकिस्तानसँग पराजित हुँदै एक खेल अगावै बाहिरिएका हुन्।
तर यी दुवै टोलीले समूह चरणको अन्तिम खेल खेल्न भने बाँकी छ।
बिहीबार नेपाल र हङकङ आमनेसामने हुँदैछन्। कक्स बजारस्थित शेख कमल इन्टरनेशनल स्टेडियममा हुने खेल दुवैका लागि महत्वपूर्ण रहेको छ। नेपाल र हङकङ सान्त्वना जितका साथ प्रतियोगितामा सुखद अन्त्य गर्ने योजनामा हुनेछन्।
यसअघि सन् २०१३ मा सिंगापुरमा भएको इमर्जिङ कपमा नेपालले समूह चरणको तिनवटै खेलमा पराजय भोगेको थियो। त्यसैले पनि हङकङ विरुद्धको खेल नेपालको लागि विशेष रहेको छ।
जारी प्रतियोगितामा नेपाल पहिलो खेलमा पाकिस्तानसँग ६ विकेट तथा दोस्रो खेलमा आयोजक बंगलादेशसँग ८३ रनले पराजित भएको थियो।
यस्तै पहिलो खेलमा बंगलादेशसँग ८ विकेटको हार बेहोरेको हङकङ दोस्रो खेलमा पाकिस्तानसँग ४४७ रनको फराकिलो अन्तरले पराजित भएको थियो।
यस्तै लगातार दुई खेल जित्दै यसअघि नै समूह बी बाट सेमिफाइनल पुगिसकेको बगलादेश र पाकिस्तान पनि समूह विजेताका लागि बिहीबारै भिड्दैछन्।
नियमित कप्तानसहित ४ सिनियर खेलाडीलाई रेस्ट दिएको नेपालका लागि इमर्जिङ कपमा ज्ञानेन्द्र मल्लले कप्तानी सम्हालेको थिए।
यस्तै ४ खेलाडीले सिनियर टीममा डेब्यु समेत गरेका छन्। पाकिस्तान विरुद्ध फास्ट बलर दीपेश श्रेष्ठ तथा स्पिनर सुशन भारीले डेब्यु गरेका थिए भने बंगलादेश विरुद्ध विकेटकिपर ब्याट्सम्यानद्वय आसिफ शेख र दीलिप नाथले डेब्यु गरेका हुन्।
यस्तै समूह ए अन्तर्गत भारत र अफगानिस्तान तथा श्रीलंका र मलेसियाबीचको खेल पनि हुनेछ। दुई खेल जितेको भारत शीर्ष स्थानमा छ भने एकमा जित र एकमा हार बेहोरेको अफगानिस्तान र श्रीलंका क्रमश: दोस्रो र तेस्रो स्थानमा छन्। दुवै खेल हारेकव मलेसिया अंकविहिन छ।