PahiloPost

May 10, 2024 | २८ बैशाख २०८१

कसले गर्‍यो जाजरकोटमा कांग्रेस नेताको हत्या? विप्लव माओवादी पनि शंकाको घेरामा



सविन ढकाल

कसले गर्‍यो जाजरकोटमा कांग्रेस नेताको हत्या? विप्लव माओवादी पनि शंकाको घेरामा

काठमाडौँ : जाजरकोट- डोल्पा सडकखण्डमा मंगलबार इभनिङ वाक गरेर घर फर्कँदै गरेका नेपाली कांग्रेसका युवा नेता रवीन्द्र शाहलाई ढुंगाले हानेर हत्या गरी शव साढे तीन सय मिटर तल भीरमा फ्याँकियो। 

हत्याबारे अनुसन्धान गर्न हिजै राति प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ। अज्ञात समूहले शाहलाई ढुंगा हान्दा उनीसँगै रहेका जाजरकोटकै भीम खत्री, किरण थापा र हिटलर सिंह राठौरलाई पक्राउ परेका हुन्।  

उनीहरुले आफूहरु शाहसँगै भएको स्वीकार गरे पनि प्रतिकार गर्न खोज्दाखोज्दै हत्या भएको बयान प्रहरीलाई दिएका छन्। उनीहरुको बयानमा विश्वास नभएपछि जाजरकोट प्रहरीले साँचो झुटो पत्ता लगाउन पोलिग्राफ परीक्षण गर्ने तयारी गरिरहेको जाजरकोट जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रमेश दत्त अवस्थीले बताए। 

विप्लवका कार्यकर्तामाथि शंका

शाहको हत्याबारे अनुसन्धान गरिरहेको प्रहरीले प्रारम्भिक अनुसन्धानमा दुई वटा सम्भावित ‘लिङ्क’ भेट्टाएको छ-  

एक, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ता। 

दुई, ठेकेदारी विवाद।

केही दिनदेखि शाहलाई विप्लवका कार्यकर्ताले चन्दा माग्दै आएको र उनले नमानेको अनुसन्धानमा खुलेको प्रहरी निरीक्षक अवस्थी बताउँछन्। 
उनले भने, 'विप्लव कार्यकर्ताले पटक-पटक चन्दा माग्दै धम्की दिएको बुझिएको छ। त्यसैले अहिले अनुसन्धान त्यतातिर पनि मोडिएको हो।'

शाह नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघका पूर्व केन्द्रीय सदस्य समेत हुन्। जाजरकोटमा उनी अध्यक्ष रहेको पाँच युवा संरक्षण मञ्च नामको गैरसरकारी संस्था समेत छ। 

उनले केही समयदेखि जाजरकोट, रुकुम लगायतका जिल्लामा सडक निर्माण लगायतमा ठेकेदारी गर्दै आएका थिए। शाहलाई केही दिनदेखि रुकुममा ठेकेदारहरुले समेत विभिन्न किसिमको धम्की दिने गरेको अनुसन्धानमा खुलेको छ। 

कसले, किन धम्की दियो भन्नेबारे अनुसन्धान शुरु भइसकेको अवस्थीले बताए। 

शाहको हत्याको विरोधमा घण्टाघरस्थित त्रिचन्द्र कलेज अगाडि आज नेविसंघका नेता कार्यकर्ताले प्रदर्शन गरे।


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell