कञ्चनपुर : पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अर्जुनीनजिक बुधबार साँझ बसले ठक्कर दिँदा दुईजना मोटरसाइकलमा सवार नेपाली सेनाका जवान गम्भीर घाइते भएका छन्।
महेन्द्रनगरबाट कैलालीको धनगढीतर्फ जाँदै गरेको ना ६ ख ९४४० नंको बसले विपरीत दिशाबाट आउँदै गरेको नेपाली सेनाका जवान चढेको भे २ प ५०२७ नंको मोटरसाइकललाई निकुञ्जको अर्जुनी ब्यारेकनजिक ठक्कर दिँदा मोटरसाइकलमा सवार जवान २६ वर्षीय हर्कबहादुर बोहरा र २५ वर्षीय सन्तोष चौधरी गम्भीर घाइते भएका हुन्।
घाइतेमध्ये बोहरा कञ्चनपुरका र चौधरी बर्दियाका बासिन्दा रहेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी नायब निरीक्षक लालमणि जोशीले बताए।
दुवैजनाको यहाँस्थित अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि बाँकेको कोहलपुर लगिएको उनले बताए। दुवैजना कुन ठाउँमा कार्यरत रहेको भन्नेबारे खुल्न सकेको छैन। ठक्कर दिने बस र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। रासस