PahiloPost

May 2, 2025 | १९ बैशाख २०८२

भिआइपी एरियामा मात्रै कालोपत्रे गरेर उम्कियो मेलम्ची, हिलाम्मे सडक सर्वसाधारणलार्इ सास्ती



पहिलोपोस्ट

भिआइपी एरियामा मात्रै कालोपत्रे गरेर उम्कियो मेलम्ची, हिलाम्मे सडक सर्वसाधारणलार्इ सास्ती

दिनेश खड्का

काठमाडौँ
: विकासका काम धमाधम भइरहेको काठमाडौंका मानिसले धुलो खप्न थालेको धेरै भइसक्यो। पानी पर्न थालेपछि भने धुलोमात्र नभइ हिलोले पनि सताउन थालेको छ।

अहिले काठमाडौंको सडक घाम लाग्दा धुलैधुलो र पानी पर्दा हिड्नै समस्या हुने गरी सडकहरु हिलाम्मे छन्। मेलम्चीको पानी पिउने आशामा हिलो धुलो खपिरहेका राजधानीबासीले हिलो र धुलोबाट मुक्ति पाउन अझै लामै समय कुर्नुपर्ने देखिन्छ।


मेलम्ची खानेपानी आयोजनाले दिएको जानकारी अनुसार पाइपलाइन विस्तारका लागि ६ सय ७० किलोमिटर सडक भत्काउन आवश्यक हुन्छ। यसका लागि अहिलेसम्म आयोजनाले लगभग ६ सय किलोमिटर सडक भत्काइसकेको छ। तर भत्किएका सडकमा पाइप बिछ्याइसकेपछि मर्मत गरेर  पहिलेजस्तै भने बनाइएको छैन।

सडक भत्काएर त्यसलार्इ अस्थायी रुपमा कालोपत्रे गर्ने भनिए पनि अस्थायी कालोपत्रे हुन सकेको छैन। सडकहरुमा खाडल खनेर पाइप बिछ्याइसकेपछि पुरेर मात्रै छोडिएकोले नै घाम लाग्दा धुलो अनि पानी पर्दा हिलो भएको हो।


मेलम्ची खानेपानी आयोजना अन्तर्गत काम गरिरहेका निर्माण व्यवसायी रमेश शर्माका अनुसार संसद्को वातावरण समितिले पानी र अलकत्रा छर्केर काम गर्न निर्देशन दिएपछि भिआइपी एरियामा भने कालोपत्रे गरिएको छ।

आयोजनाका निर्देशक तिरेशप्रसाद खत्रीले धुलो कम गर्नका लागि नियमित पानी छर्कने, खानेपानीका लागि खनिएका बाहेकका सडकमा खाल्डाखुल्डी पुरेर धुलो नियन्त्रण गरिरहेको दावी गरे पनि सडकको अवस्था हेर्दा त्यस्तो देखिदैँन।

पाइपलाइन विस्तारका लागि छ मिटर गहिरो खन्नु पर्ने, खनेको एक दुइ दिन राखेर मात्र अस्थायी कालोपत्रे गर्ने भएकाले सडक सुकेपछि मात्र कालोपत्रे गर्न मिल्ने आयोजनाले जनाएको छ।


कम्पनीका अनुसार खाल्डो खनेको दुइ तीन दिनपछि मात्र अस्थायी कालोपत्रे गर्न मिल्छ। घाम लागेको बेला पानी छर्कदा अस्थायी कालो पत्रे गर्न नमिल्ने भएका कारणले धुलो उड्ने गरेको आयोजनाको दावी छ।


अस्थायी कालोपत्रे भएका सडकहरु

अहिलेसम्म आयोजनाले बत्तीसपुतली-गौशला, एयरपोर्ट-तिनकुने, थापाथली, पानीपोखरी लगायतका सडकखण्डमा अस्थायी कालोपत्रे गरेको छ। यस्तै राष्ट्रपति कार्यालय, नारायणगोपाल चोक, बाँसबारी र चाबहिल एरियामा अस्थायी कालोपत्रे गर्ने काम भइरहेको निर्माण व्यवसायी रमेश शर्माले जानकारी दिए।

आयोजनाका निर्देशक तिरेशप्रसाद खत्रीले दिएको जानकारी अनुसार अहिले भत्किएका सडकमध्ये लगभग १५ प्रतिशतमा मात्र अस्थायी कालोपत्रे गर्ने काम भइरहेको छ।

उनले आगामी साउन मसान्तभित्र पाइपलाइन विस्तारको कामसंगै कालोपत्रेको काम पनि गरिसक्ने जानकारी दिए। सडकहरु पूर्ण रुपले कालोपत्रे हुन भने अझै एक बर्ष लाग्न सक्ने उनले बताए ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell