PahiloPost

May 29, 2025 | १६ जेठ २०८२

जिब्रो छेड्न तयार भए भक्तपुरका बुद्धकृष्ण



पहिलोपोस्ट

जिब्रो छेड्न तयार भए भक्तपुरका बुद्धकृष्ण

भक्तपुर : मध्यपुर थिमिस्थित बोडेको प्रसिद्ध जिब्रो छेड्ने जात्रामा यस वर्ष बुद्धकृष्ण बाग श्रेष्ठले जिब्रो छेड्ने भएका छन्। जात्रा नै रोकिने अवस्था आएपछि बोडेका ४५ वर्षीय बुद्धकृष्ण बाग श्रेष्ठ जिब्रो छेड्न तयार भएका हुन्। 

उनले यसअघि २०६२ देखि २०६५ सालसम्म चारपटक जिब्रो छेडिसकेका छन्। २०६६ सालमा घरमा श्रीमती सुत्केरी भएपछि उनले जिब्रो नछेड्ने घोषणा गरेका थिए। त्यसपछि जुजुभाइ बासँ श्रेष्ठले जिब्रो छेड्दै आइरहेका थिए। विगत आठ वर्षदेखि जिब्रो छेड्दै आइरहेका जुजुभाइले यसवर्ष घरमा श्रीमती र भाउजू बिरामी भएकाले जिब्रो नछेड्ने घोषणा गरेसँगै जात्राका लागि जिब्रो छेड्ने व्यक्तिको खोजी सुरु भएको थियो।

जात्रा नै रोकिने अवस्था आएकाले आफूले पुनः जिब्रो छेड्ने निर्णय लिएको बुद्धकृष्णले बताउँछन्। बोडेको जात्रामा बोडेबासीमध्ये पनि यहाँका श्रेष्ठ थरका व्यक्तिले मात्र जिब्रो छेड्नु पर्ने परम्परा रहेको छ। जिब्रो छेड्ने व्यक्तिले भोजभतेरसमेत गर्नुपर्ने भएकाले आर्थिक दृष्टिले निक्कै सकस पर्ने गरेको बुद्धकृष्ण बताउँछन्। जात्राका लागि मध्यपुर थिमी नगरपालिका, संस्कृति मन्त्रालय, गुठी संस्थानलगायतले आर्थिक सहयोग प्रदान गर्दै आइरहेका छन्।

जात्रा प्रत्येक वर्षको वैशाख २ गते बिहान हुने गर्दछ। स्थानीय पाचोबाट सुरु हुने जात्रा बोडेका विभिन्न स्थान र नगरको परिक्रमापछि पुनः पाचोस्थित महालक्ष्मी मन्दिरमा पुगेर समापन हुने गर्दछ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell