PahiloPost

Apr 25, 2026 | १२ बैशाख २०८३

ठूला देशले नेपालको नमुना शान्ति प्रक्रियाको प्रचार गर्न चाहेनन् : प्रधानमन्त्री



पहिलोपोस्ट

ठूला देशले नेपालको नमुना शान्ति प्रक्रियाको प्रचार गर्न चाहेनन् : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको शान्ति प्रक्रिया विश्वकै लागि नमूना भएको बताएका छन्।

म्यानमारको शान्ति टोली र नेपालस्थित इन्ट्रिस्च्यूड अफ क्राइसिस् म्यानेजमेन्ट स्टडिजद्वारा आज बिहान आयोजित कार्यक्रममा नेपालमा शान्ति प्रक्रियाका अनुभवहरु प्रस्तुत गर्दै प्रधानमन्त्रीले भने, 'विकसित देशमा यति ठूलो शान्ति प्रक्रिया भएको भए धनी देशहरुले त्यसको व्यापक प्रचार र नायकहरुलाई स्थापित गर्ने थिए, तर नेपालजस्तो सानो र गरिब देश भनेर उनीहरुले यति ठूलो नमूना शान्ति प्रक्रियाको प्रचार गर्न चाहेनन्।' 

नेपालका अनुभव मौलिक भएको बताउँदै उनले राजनीतिक रुपमा राजतन्त्रात्मक संसदीय व्यवस्था अन्त्य भई संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको बताए। उनले भने, 'संविधानसभाबाट नयाँ संविधान बनेको छ, नयाँ संविधानमा राजनीतिक उपलब्धिहरु संस्थागत भएका छन्। यसैगरी अर्को धेरै कठिन कार्य फौजी तथा प्राविधिक पाटो थियो, जसलाई हामीले विश्वका अरु देशका तुलनामा तुलनात्मक रुपमा सहज र सजिलै म्यानेज गर्‍यौँ।’ 


प्रधानमन्त्रीले नेपाल र म्यानमार दुई देशका बीचमा असल मित्रताको सम्बन्ध रहेको बताउँदै म्यानमारमा सुरु भएको युद्धविराम र शान्तिवार्ता निष्कर्षमा पुग्ने विश्वास व्यक्त गरे। उनले हरेक देशका शान्ति प्रक्रियाका आफ्नै विशेषता र मौलिकता हुने बताउँदै तिनलाई हुबहु अर्को देशमा लागू गर्न नसकिने स्पष्ट पारे।

एकथरी मान्छेले नेपालमा द्वन्द्व बढिरहोस्, कहिल्यै हल नहोस् भनेर भूमिका खेल्ने गरेको बताउँदै उनले कुनै बाहिरी दबाव र प्रभाव विना आफ्नै स्वतन्त्र निर्णय र एकतावद्ध पहल हुनसकेमा र धैर्यतापूर्वक अघि बढ्न सकेमा द्वन्द्व समाधान हुन सक्ने धारणा राखे। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell