PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

एयरबस खरिदका लागि निगम र अमेरिकी कम्पनीबीच सम्झौता हुँदै, तत्काल पहिलो किस्ताको ८ अर्ब पठाउनुपर्ने



उमेश पौडेल

एयरबस खरिदका लागि निगम र अमेरिकी कम्पनीबीच सम्झौता हुँदै, तत्काल पहिलो किस्ताको ८ अर्ब पठाउनुपर्ने

काठमाडौं : नेपाल वायुसेवा निगमले अमेरिकन लिजिङ कम्पनी (एएआर) कर्पोरेसनसँग अर्को साता वाइड बडी विमान खरिद सम्झौता गर्ने भएको छ।

यो सम्झौतालार्इ अन्तिम रुप दिन कर्पोरेशनका प्रतिनिधि गत साता नेपाल आएका थिए। निगमले कर्पोरेसनसँग चैत २४ गते एयरबस ३३०-२०० सिरिजका दुई वटा वाइड बडी जहाज खरिद सम्झौता गर्न लागेको नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले बताए।

निगमले जहाज किन्ने समयभित्र व्यवस्थापनलार्इ अगाडि बढाएकोले समयमै दुर्इ वटा जहाज आउने निश्चित देखिएको छ। कुनै राजनीतिक र प्रशासनिक अवरोध नभए तोकिएको समयमा जहाज आउनेमा कंसाकार समेत विश्वस्त छन्। कर्पोरेशनले 'ब्राण्ड न्यु' जहाज निगमलार्इ बिक्री गर्नेछ।

निगमले टेन्डर गर्दा हजार घन्टासम्म उडेको सेकेन्डह्यान्ड जहाजका लागि प्रस्ताव माग गरेको थियो। तर कर्पोरेशनले 'ब्राण्ड न्यु' जहाज दिने टेन्डर हालेको थियो।

नयाँ जहाज भएकोले सिट व्यवस्थापन गर्न पनि सजिलो भएको हो। कर्पोरेशनले एयरबसको फ्याक्ट्रीमै रहेको विमान उपलब्ध गराउनेछ। पोर्चुगिज एभिएसन कम्पनी हाइफ्लाइले एयरबससँग खरिद अर्डर गरे पनि कम्पनी ऋणमा रहेको कारण जहाज किन्न नसक्ने भएपछि कर्पोरेशनले सकारेर निगमलाई बेच्न लागेको हो।

यही अवसरको सदुपयोग गर्दै निगमले कुल दुई सय ८० सिट क्षमताका दुई  जहाजमा निगम सञ्चालक समितिले प्रतिजहाज १६ वटा बिजनेस क्लास सिट राख्ने निर्णय गरेको छ।

१६ वटा बिजनेस क्लास सिट राख्नका लागि स्वीकृति दिइसकेको र बाँकी दुई सय ६४ वटा सिट इकोनोमिक क्लासका हुने उनले बताए। वाइड बडी विमान ल्याएपछि निगमले काठमाडौंबाट लन्डन, सिंगापुर, सिड्नी लगायत चीनका विभिन्न गन्तव्यमा सिधा उडान गर्ने लक्ष्य राखेको छ।

९ प्रतिशत ब्याजमा सहमति

निगमलार्इ जहाज किन्न कर्मचारी सञ्चय कोषले ९ प्रतिशतमा ऋण दिन सहमत भएको छ। निगमले ९ प्रतिशतमा ब्याजमा ऋण दिन मौखिक सहमति गरेको कंसाकारले बताए।

निगमले जहाज खरिदका लागि कोषबाट २२ अर्ब ऋण लिनेछ। जहाज किन्न निगमले कर्पोरेशनलार्इ १० करोड रुपैयाँ बैना पठाइसकिएको छ। जहाज खरिदका लागि पहिलो किस्ता ८ अर्ब पठाउनुपर्नेछ।

यो रकम १५ दिनभित्र तिर्न कर्पोरेशनले निगमलार्इ आग्रह गरेको छ। सम्झौता अनुसार निगमले अर्को वर्षको असोजमा पहिलो र चैतमा दोस्रो जहाज पाउनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell