PahiloPost

May 2, 2025 | १९ बैशाख २०८२

अस्वस्थ भएका मार्सलजुलुम शाक्यलाई निधिले गरे १५ लाख सहयोग घोषणा



पहिलोपोस्ट

अस्वस्थ भएका मार्सलजुलुम शाक्यलाई निधिले गरे १५ लाख सहयोग घोषणा

काठमाडौं : उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिले कांग्रेसका पुराना नेता मार्सलजुलुम शाक्यलाई १५ लाख सहयोग घोषणा गरेका छन्। मस्तिष्कघातबाट पीडित शाक्यलाई निधिले उपचार भइरहेको ग्राण्डी अस्पताल पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै सहयोगको घोषणा गरेका हुन्।

निधिले शाक्यको स्वास्थ्य अवस्था बुझ्न अस्पताल जानुअघि प्रधानमन्त्री पुष्पकमल दाहालसँग शाक्यको उपचारमा सरकारले गर्ने सहयोगबारे परामर्श गरेको गृहमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्री दाहालसँगको कुराकानीपछि गृहमन्त्री निधिले सरकारका तर्फबाट शाक्यको उपचारका लागि १५ लाख रुपयाँ सहयोग घोषणा गरेका हुन्।

फागुन २० मा नर्भिक अस्पताल लगिएका शाक्यको स्वास्थ्यमा सुधार नआएपछि गत ४ गते ग्रान्डीमा सारिएको थियो। शाक्य मुटु र मृगौलाका रोगबाट समेत पीडित छन्।

कांग्रेसका पुराना नेता शाक्य कांग्रेसका संस्थापक नेता विपी कोइराला, गणेशमान सिंहसँगै राजनीतिमा सक्रिय भएका थिए। २०१७ साल पुष १ गते तात्कालीन राजा महेन्द्रले जननिर्वाचित विपी कोइरालाको नेतृत्वको सरकारलाई कु गरेपछि कोही पनि सडकमा निस्कन नसकेका बेला मार्सलजुलुम शाक्यको नेतृत्वमा पहिलोपटक सडकमा विरोध भएको थियो। त्यही कारण शाक्य लामो समयसम्म जेल जीवन बिताउन बाध्य भएका थिए।

बाहिरबाट आएका अधिकांस कांग्रेस नेतालाई आर्थिक सहयोग गरेका शाक्य ४७ सालमा कृष्णप्रसाद भट्टराई नेतृत्वमा बनेको अन्तरीम सरकारमा आवास मन्त्री बनेका थिए।

कांग्रेस निकटको विद्यार्थी संगठन नेविसंघको संस्थापकसमेत रहेका शाक्य नेपाली कांग्रेसका जीवित पुराना नेता मध्येमा नै पर्छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell