PahiloPost

May 10, 2024 | २८ बैशाख २०८१

प्रदेश २ मा म्यादी प्रहरीका लागि ३५ हजार आवेदन, सबभन्दा बढी सर्लाहीमा



सविन ढकाल

प्रदेश २ मा म्यादी प्रहरीका लागि ३५ हजार आवेदन, सबभन्दा बढी सर्लाहीमा

काठमाडौँ : मधेशकेन्द्रित दलको असहयोगका कारण स्थानीय निर्वाचनको कार्यक्रम सबैभन्दा बढी प्रभावित भएको प्रदेश नम्बर २ मा म्यादी प्रहरीको लागि भने उल्लेखनीय रुपमा आवेदन परेका छन्। 

राजनीतिक दलको सहमति र सिफारिसमा प्रदेशको मतदान केन्द्र निर्धारण भएपछि मतदान केन्द्रबारे निर्णय गर्ने आयोग त्यही सिफारिस नहुँदा समस्यामा परेको हो। यसले मतदाता सूचीदेखि परिचयपत्र छपाइमा समेत समस्या भइरहेको छ। 

सुरक्षा योजनाको हिसाबले पनि महत्वका साथ हेरिएको प्रदेश नम्बर २ का आठ जिल्लामा करिब ३५ हजारले आवेदन दिएका छन्। 

सरकारले वैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचनको सुरक्षाको लागि आवश्यक ७५ हजार म्यादी प्रहरीका लागि खोलेको आवेदन दिने समय बिहीबार सकिएको छ। 

कहाँ कति आवेदन?



प्रदेश नम्बर २ मा पर्ने जिल्लाहरु मध्ये सबैभन्दा बढी आवेदन सर्लाहीमा परेको छ। यहाँको जिल्ला प्रहरी कार्यालयमा ६ हजार ९ सय ४४ जनाले आवेदन दर्ता गराएका छन्। ती मध्ये ३ सय ५४ जना महिला छन्।  

सर्लाहीपछि धेरै आवेदन परेको प्रदेश नम्बर २ को जिल्ला महोत्तरी हो। यहाँ ५ हजार ६० जनाले फाराम भरेका छन् जसमा १ सय ७५ जना महिला छन्। 

सिराहा जिल्लामा कूल ३ हजार ५ सय ६८ जनाले आवेदन दिएको जिल्ला प्रहरी कार्यलयका डिएसपी विश्वराज पोखरेल जानकारी दिए। आवेदन दिनेमा २ सय ८ जना महिला छन्। 

प्रदेश नम्बर २ मा पर्ने अर्को जिल्ला सप्तरीमा पनि म्यादी प्रहरीको लागि युवाको आकर्षण बढी देखियो। सप्तरीमा ५ हजार २९ जनाले आवेदन दिएका छन्। 

सुरक्षाको हिसाबले संवेदनशील मानिएको पर्सामा पनि कूल ३ हजार १ सयले आवेदन दिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। यो समाचार तयार पार्दासम्म उम्मेदवारी दर्ताको फाइल मिलाउने क्रम जारी रहेकोले संख्या केही बढ्न सक्ने प्रहरी बताउँछ। 

धनुषा जिल्लामा म्यादी प्रहरीको लागि आवेदन भर्नेको सङख्या ३७ सय ७० पुगेको छ। 

बारा जिल्ला प्रहरी कार्यालयमा अन्तिम दिनसम्म ४५ सय जनाले आवेदन फाराम भरेका छन्। 

रौतहट जिल्लामा  भने अन्य जिल्लाको तुलनामा कम आवेदन परेको छ। जिल्ला प्रहरी कार्यालयले दिएको प्रारम्भिक जानकारी अनुसार २९ सय जनाले आवेदन दिएका छन्। बिहीबार मात्रै त्यहाँ ८ सय ३ जनाले आवेदन भरेका थिए त्यसमध्ये ५ जना महिला छन्। 

१८ वर्ष पूरा भएका र ५४ वर्ष ननाघेका व्यक्तिका लागि म्यादी प्रहरीको आवेदन खुलाइएको थियो। 

स्थानीय निर्वाचनमा खटिने म्यादी प्रहरीको कार्यअवधि ५५ दिनको रहेको छ। म्यादी प्रहरीले नेपाल प्रहरीको जवानले खाईपाई आएको तलब तथा भत्ता बराबरको रकम पाउने छ।

नेपाल प्रहरीका जवानले हाल ग्रेडसहित मासिक २१ हजार ८ सय २२ रुपैयाँ तलब पाउने गर्छन्। तर म्यादी प्रहरीले भने ग्रेड पाउँदैनन्। त्यसैले उनीहरुले प्रहरी जवानको तलब स्केल सरह मासिक १७ हजार २ सय ३० रुपैयाँ मात्रै पाउने छन्। तराईका जिल्लामा दिनको १९७ रुपैयाँ रासन वापत पाउँछन्। अन्य जिल्लामा भने ठाउँ अनुसार फरक फरक रकम पाउने छन्। 

त्यसैगरी म्यादी प्रहरीले पोशाक पनि पाउने छन्। 


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell