बर्दिया : बर्दियाको मधुवन नगरपालिकामा रहेको गुराँस बहुमुखी क्याम्पसका प्राध्यापक र कर्मचारीले पाँच महिनासम्म तलब नपाएको भन्दै बिहीबारदेखि पठनपाठन ठप्प पारेका छन्।
क्याम्पसमा पढाइ रोकिएपछि विद्यार्थी मारमा परेका छन्। क्याम्पस प्रमुख मणिराम तिवारीले क्याम्पसमा रहेका १३ प्राध्यापक र चार कर्मचारी गरी १७ जनालाई पाँच महिनाको तलब बापत करिब रु १३ लाख दिन बाँकी रहेकाले तत्काल सो रकम नभएका कारण प्राध्यापक र कर्मचारीले काम रोकेको बताए। क्याम्पसमा पढाइ रोकिँदा एकसय ५० भन्दा बढी विद्यार्थी मर्कामा परेका छन्।
क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष टंक अधिकारीले क्याम्पसको आन्तरिक आयस्रोत कम भएको हुँदा सो समस्या आइपरेको बताए। मधुवन नगरपालिकाले बजेटको निकासा गरेर सहयोग गर्ने वचन दिए पनि सहयोग नआएको अधिकारीले बताए।
बिहीबार क्याम्पस व्यवस्थापन समितिसँग भएको छलफल पनि बिनानिष्कर्ष टुङ्गिएका कारण पनि पढाइ अवरुद्ध हुने निश्चित भएको छ। नगरपालिकाबाट क्याम्पसको भौतिक संरचना निर्माणका लागि बजेट निकासा ढिलो भएका कारण कोषमा रहेको रकम क्याम्पसले भौतिक निर्माण तथा पुस्तकालयमा खर्च गरेका कारण पनि सो समस्या आएको बताइएको छ। क्याम्पस त्रिविको सम्बन्धन प्राप्त क्याम्पस हो। रासस