
सल्यान : सल्यानमा विगत लामो समयदेखि एन्टी रेबिज खोपको अभाव भएपछि सेवाग्राही समस्यामा परेका छन्। स्वास्थ्य संस्थालाई सरकारले निःशुल्क रुपमा वितरण गर्दै आइरहेको एन्टी रेबिज भ्याक्सिन विगत डेढ महिनादेखि अभाव भएपछि कुकुरले टोकेका बिरामी निजी क्लिनिकमा चर्को मूल्य तिरेर खोप लगाउन बाध्य भएका हुन्।
जिल्ला अस्पताल सल्यान र उपस्वास्थ्य चौकी थारमारेबाट रेबिज रोगविरुद्धको खोप निःशुल्क उपलब्ध गराउँदै आएको भएपनि गत फागुन पहिलो हप्तादेखि नै उक्त खोपको अभाव भएको जिल्ला जनस्वास्थ्य कार्यालय सल्यानले जानकारी दिएको छ।
सल्यानमा मात्र नभई देशभर खोपको अभाव भएको जिल्ला जनस्वास्थ्य प्रमुख डा. मनिषा रावलले जानकारी दिए। प्रतिमहिना एकसयदेखि दुईसय खपत हुँदै आएकोमा फागुनदेखि खोपको अभाव हुँदा बिरामी रित्तो हात फर्किन बाध्य भएको रावलको भनाइ छ।
क्षेत्र तथा केन्द्रमा पटक पटक माग गरिएको समेत उनले बताइन्। अबको एक–दुई हप्ताभित्रमा खोप आउने सम्भावना रहेको रावलको भनाई छ। रासस