त्रिपुराकोट : डोल्पा सदरमुकाम दुनैसम्म राष्ट्रिय सडक सञ्जालको पहँुच पु¥याउन नेपाली सेना सडक निर्माण कार्यमा अहोरात्र खटिएको छ।
जाजरकोट—डोल्पा सडकखण्डको जम्मा ११७.७ किमी सडकमध्ये एकसय आठ किमी सडक निर्माण कार्य सम्पन्न भइसकेको र नौ किमी सडक मात्र बाँकी रहेको र अबको एक वर्षभित्रै सदरमुकाम दुनै जोड्ने लक्ष्य रहेको सेनाले जनाएको छ।
अहिले त्रिवेणी—करोपगाड सडकखण्डको निर्माण कार्य तीव्र पारिएको जाजरकोट—डोल्पा सडक निर्माणका कार्यदल प्रमुख विश्वबन्धु पहाडीले जानकारी दिए। यस सडकखण्डको निर्माण कार्य छिटो र गुणस्तरीय बनाउन दुईवटा डोजर लगाई काम सञ्चालन गरिएको छ।
सडक निर्माण कार्यदल प्रमुख पहाडीका अनुसार जिल्लाको त्रिवेणी, खदाङ, चुँगाडलगायत स्थानमा निर्माण आधार खडा गरेर सेनाले कामलाई थप सशक्त बनाइरहेको छ।
अबको एक वर्षभित्रसदरमुकाम दुनै जोड्ने लक्ष्यका साथ सेनाले निर्माण कार्यलाई तीव्र पारेको छ। आउँदो बैशाखभित्र नै करोपगाडसम्म सडक निर्माणको काम पूरा गरेर यातायात सञ्चालनमा ल्याउने सेनाको दाबी छ। करोपगाड—खदाङ सडकखण्डको निर्माण कार्य पनि तीव्र पारिएको छ।
त्रिपुरासुन्दरी नगरपालिकाअन्तर्गतको खदाङसम्म आउँदो दसैँअगाडि नै सडक जोडेर यातायात सञ्चालनमा ल्याउने सेनाको लक्ष्य रहेको छ। खदाङसम्म मात्रै भएपनि सडक जोडिएपछि डोल्पालीलाई ठूलो राहत हुने खदाङका स्थानीयवासी मोतीप्रसाद उपाध्यायले बताए।
सेनाले यही गतिमा काम गर्ने हो भने अबको एक वर्षभित्र सदरमुकाम दुनैसम्म सडक जोड्न सफल हुने उपाध्यायले विश्वास व्यक्त गरे। सडक यातायातको अभावमा संघर्षपूर्ण जीवन व्यतित गर्दै आएका डोल्पाली जनताको मोटर चढ्ने सपना छिट्टै पूरा हुने भन्दै सर्वसाधारणमा खुसियाली छाएको छ।
गत साउनमा रुकुम—डोल्पाको सीमावर्ती क्षेत्र त्रिवेणीबजारसम्म यातायात सञ्चालनमा ल्याइएपछि डोल्पालीलाई दैनिक उपभोग्य सामग्रीको ढुवानीदेखि लिएर विभिन्न कामकाजका लागि जिल्लाबाहिर जानलाई समेत सहज भएको छ। रासस
फोटो : नेपाली टाइम्स