नेपालगन्ज : विभिन्न सामाजिक संस्थाबाट बाँके जिल्लामा सञ्चालित एम्बुलेन्सको दुरुपयोग बढ्दै गएकामा सरोकारवाला र सेवाग्राहीले चिन्ता व्यक्त गरेका छन्।
जिल्लामा सञ्चालित एम्बुलेन्स ग्रामीणमुखी हुन नसकेको, जथाभावी शुल्क लिने गरेको, रातिको समयमा सेवा दिन आनाकानी गर्ने गरेको, एम्बुलेन्समा यात्रु राखिने गरेको लगायतका गुनासो सेवाग्राहीको छ।
रेडक्रस, शाखा प्रमुख निरञ्जना मल्लले एम्बुलेन्सको व्यापक दुरुपयोग बढेको स्वीकार्दै त्यसको सुधारका लागि सरकारले विद्यमान नीतिगत व्यवस्थामा सुधार गर्नुपर्ने र एम्बुलेन्स सञ्चालकमा पनि व्यावसायिक इमान्दारिता हुनुपर्ने बताए।
एम्बुलेन्स सेवालाई व्यवस्थित रुपमा निर्देशिका अनुरुप सञ्चालन गराउने जिम्मा लिएको जिल्ला एम्बुलेन्स सेवा समितिको भूमिका पनि अपेक्षाकृत हुन नसकेकाले पनि दुरुपयोग बढ्नुको प्रमुख कारण रहेको उनको भनाइ थियो।
प्रमुख जिल्ला अधिकारी अध्यक्ष, जिल्ला जनस्वास्थ्य कार्यालयका प्रतिनिधि सदस्य सचिव र जिल्ला रेडक्रस, जिल्ला प्रहरी कार्यालय र भेरी अञ्चल अस्पतालका प्रतिनिधि सदस्य रहेको सो समितिले एम्बुलेन्स सेवा प्रदायकसँग बेलाबेला अन्तरक्रिया तथा छलफल गर्नुबाहेक दुरुपयोग नियन्त्रणका लागि ठोस काम भने गर्न सकेको छैन।
अझ पछिल्लो समयमा जिल्लामा सञ्चालित एम्बुलेन्सलाई सञ्चालकले तस्करीका रुपमा समेत प्रयोग गर्दै आएका छन्। बुधबार एक एम्बुलेन्सबाट सशस्त्र प्रहरी सीमा सुरक्षा बलले जिल्लाको सीमापारि बजारबाट तस्करी गरी ल्याइएको १९८ थान लेहङ्गा, साडी बरामद गरेपछि एम्बुलेन्सलाई सञ्चालकले तस्करीका लागि प्रयोग गर्दै आएको रहस्य खुलेको हो।
भूपू सैनिक सङ्गठनको नाममा दर्ता भएको सो एम्बुलेन्स कमल क्षेत्रीले ठेक्कामा सञ्चालन गर्दै आएका थिए। प्रहरी नियन्त्रणमा रहेको चालकले क्षेत्रीको निर्देशनमा तस्करीका रुपमा एम्बुलेन्स प्रयोग गर्दै आएको भेद खोलेका छन्।
एम्बुलेन्स सेवासम्बन्धी व्यापक गुनासो सुनिन थालेकाले अब यस विषयमा कडाइ गर्नैपर्ने अवस्था आएको रेडक्रस प्रमुख मल्लको भनाइ छ।
अर्कोतर्फ ग्रामीण क्षेत्रबाट एम्बुलेन्स माग भई आएमा एम्बुलेन्स जान सक्ने कच्ची तथा ग्राभेल बाटो भए पनि 'एम्बुलेन्स बिग्रेको छ, ड्राइभर छैन' भनी सेवा दिन आनाकानी गर्ने र सेवा दिइहाले पनि बढी रकम लिने गरेको पनि जनगुनासो छ।
तथ्याङ्कअनुसार बाँके जिल्लामा रेडक्रसअन्तर्गत छ र अन्य १८ गैरसरकारी संस्थाका समेत कुल २७ एम्बुलेन्स सञ्चालनमा छ। रासस