काठमाडौं : संविधान संशोधन प्रस्ताव अघि बढाउन र निर्वाचनको वातावरण निर्माण गर्न सत्तारुढ कांग्रेस-माओवादीले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई बैठकमा डाकेका छन्। अहिले तीन बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आयोजना गरेका हुन्।
संविधान संशोधन नगरेसम्म चुनावमा नजाने र चुनाव प्रभावित गर्ने घोषणा गरेर सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएको मोर्चालाई सरकारले संशोधन प्रस्तावमा रहेको प्रदेश सीमाङ्कनबाहेकका विषय पारित गरेर जान प्रस्ताव गर्न लागेको हो। सरकारले सीमांकनको प्रस्तावबारे निर्णय गर्नका लागि पहिले नै स्पष्ट कार्यादेशसहित शक्तिशाली संघीय आयोग बनाउने प्रस्ताव गर्न लागेको छ।
मोर्चाले भने स्थानीय तहलाई प्रदेशअन्तर्गत राख्नुपर्ने, स्थानीय तहअघि संघीय चुनाव गरेर त्यसपछि प्रदेश हुँदै स्थानीय तहको चुनाव गर्नुपर्ने, स्थानीय तहको संख्या जनसंख्याका आधारमा ५१ प्रतिशत पुर्याउनुपर्ने त्यसो भए मात्र सीमाङ्कनको विषय बाँकी राख्न तयार हुने सर्त राखेको छ। उसले केन्द्रसँगको स्थानीयतहको प्रत्यक्ष पहुँच हटाउने गरी स्थानीय तहको अधिकार कटौती भए र बाँकी अन्य विषयमा सहमति भए संघबाट चुनाव सूरु गर्ने आफ्नो सर्तमा लचिलो हुने संकेत दिएको छ।