PahiloPost

May 2, 2025 | १९ बैशाख २०८२

निर्वाचन आयुक्तले भने, 'स्थानीय निर्वाचन जीवन मरणको प्रश्न'



पहिलोपोस्ट

निर्वाचन आयुक्तले भने, 'स्थानीय निर्वाचन जीवन मरणको प्रश्न'

काठमाडौँ : प्रमुख निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादवले स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा तोकिएको मितिमै स्थानीय तहको निर्वाचन हुनेमा कुनै शङ्का नगर्न आग्रह गरेका छन्।

निर्वाचन आयोगले शुक्रबार आयोजना गरेको स्थानीय तह निर्वाचन २०७४ का लागि निर्वाचन र सुरक्षा विषयक २ दिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै प्रमुख आयुक्त यादवले यस्तो धारणा राखेका हुन्। उनले उम्मेदवार र आम मतदातालाई हुन सक्ने सुरक्षा चुनौती र जोखिम पहिचान गरी सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिए।

प्रमुख आयुक्त डा. यादवले भने, ‘सुरक्षा सबै नागरिकको आधारभूत आवश्यकता हो, निर्वाचनको कार्यक्रम सुरु भइसकेको हुँदा सबै सुरक्षा निकायले तत्कालै कार्ययोजना बनाएर स्थानीय तहसम्म खटिन आवश्यक छ, सुरक्षा निकायबाट पनि निष्पक्ष, स्वतन्त्र र तटस्थ भएर कार्यसम्पादन होस् भने आयोग चाहन्छ।’

निर्वाचन आयुक्त सुधीरकुमार शाहले धेरैभन्दा धेरै मतदाता कुनै पनि डर, धाक र धम्कीबीच नभई निर्भीक रुपमा मतदान गरेर घर फर्कन सकून् भन्दै उनले पेसागत दायित्व बहन गरी एकीकृत र निष्पक्ष ढङ्गबाट कर्तव्य निर्वाह गर्न सुरक्षाकर्मीलाई निर्देशन दिए।

आयुक्त शाहले सार्वभौम र स्वतन्त्र स्थानीय तहको सरकार गठनको लागि निर्वाचन हुने भएकाले राजनीतिक दलबीच सामान्य मतभेद भए पनि अब निर्वाचन नरोकिने बताए। एकै चरणमा हुन लागेको निर्वाचन तयारीको एउटा अङ्गको रुपमा निर्वाचन सुरक्षा विषयक प्रशिक्षण कार्यक्रम रहेको बताउँदै उनले भने, 'झण्डै २० वर्षपछि स्थानीय तहको निर्वाचन हुँदैछ, निर्वाचन हुन सकेन भने संविधान कार्यान्वयन हुन सकेन भन्ने अर्थ लाग्न सक्दछ, त्यसैले पनि यो निर्वाचन हामी लोकतन्त्रमा विश्वास गर्नेका लागि जीवनमरणको प्रश्न हो।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell