मोरङ : नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले एमालेले मुलुकमा मधेसी र पहाडी समुदायका बीचमा भेदभाव पैदा गरेर मुलुकलाई अविश्वास, जातीय द्वन्द्व र विखण्डनको बीउ रोपेको भन्दै आक्रोश व्यक्त गरेका छन्।
मधेसको विरोध राष्ट्रवाद होइन भन्ने धारणा प्रकट गर्दै सभापति देउवाले आफूलाई राष्ट्रवादी भन्नेहरूले मधेसका भावनालाई अविश्वास र अपमान गरेको आरोप लगाए।
‘अनादि कालदेखि नै नेपालको सिमानाको रक्षा गरेर, सीमा कुरेर र त्यहाँ चौकीदारी गरेर बसेका मधेसीलाई एमालेले अपमान गरेको छ’, नेपाली काङ्ग्रेस मोरङद्वारा शुक्रबार आयोजित जिल्ला सम्मेलनमा देउवाले भने, ‘हज्जारौँ वर्षदेखि मिलेर बसेको समाजमा एमालेले कलह सृजना गर्ने प्रयास गरेको छ। हामी यस्तो अवस्था आउन दिने छैनौँ।’
नेपाली काङ्ग्रेसले मात्र मधेसको भावनाको रक्षा गर्नसक्ने दाबी गर्दै उनले त्यसै कारणले आफ्नो पार्टीले संशोधन प्रस्ताव दर्ता गराएको जानकारी दिए।
कम्युनिस्ट पार्टीहरू रणनीतिक रूपमा मात्र लोकतान्त्रिक भएको टिप्पणी गर्दै देउवाले मौका पर्नासाथ वामपन्थीहरू एकदलीय सर्वसत्तावादी हुन्छन् भन्ने विचार व्यक्त गरे।
यसअघि पार्टीका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले उग्र मधेसवाद र उग्र राष्ट्रवादका बीचमा मधेसी मोर्चाले मध्यमार्गी धार अपनाएको दाबी गरे।
‘मधेसी मोर्चा अहिलेसम्म मध्यमार्गी शक्ति हो, छ’, डा. कोइरालाको राय थियो, ‘तर जतिजति हामी यसलाई खुम्च्याउन खोज्छौँ त्यति नै उग्र मधेसवादको भावना फैलन थाल्छ। अनि जतिजति उग्र राष्ट्रवादको धार फैलन्छ, त्यति नै उग्र मधेसवादको भावना विस्तारित हुन्छ।’
एमालेका अध्यक्ष केपी ओलीले नेपालभित्र मधेसलाई देख्ने नगरेको र मधेसीलाई नेपाली भन्न नचाहेको उनको विचार थियो।