PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

हलेसी क्षेत्रमा जमिनमुनिको पानी निकालिने



पहिलोपोस्ट

खोटाङ : धार्मिक तथा पर्यटकीयस्थल हलेसी क्षेत्रमा डिप बोरिङ (जमिन छेडेर पानी निकाल्ने) योजना सुरु गरिएको छ।

हिन्दू, बौद्ध र किरात धर्मावलम्बीको सङ्गमस्थल हलेसी आउने दर्शनार्थी तथा आसपासका उपभोक्तालाई लक्ष्य गरेर दुई ठाउँमा बोरिङ गर्ने योजना सुरु गरिएको हो। हलेसी तुवाचुङ नगरपालिकाका महादेवस्थान, दुर्छिम, मङ्गलटार, बडहरे, च्यास्मिटार, डिकुवा र बाहुनीडाँडामा बृहत् खानेपानी आयोजनाको वैकल्पिक व्यवस्थाका लागि डिप बोरिङ योजना अघि बढाइएको उपभोक्ता समितिका अध्यक्ष इवन राईले बताए।

यसै आवमा सम्पन्न गर्ने लक्ष्य राखिएको योजनाका लागि खानेपानी विभागबाट आएका परामर्शदाताले सर्भेक्षणसमेत गरिसकेका छन्। डिप बोरिङ गरेर हलेसी गुफा नजिक तथा च्यास्मिटार र बडहरेबीचमा पर्ने बोझेमा जमिनमुनिको पानी निकाल्ने तयारी गरिएको खानेपानी तथा सरसफाइ सबडिभिजन कार्यालय खोटाङका प्रमुख विजय ठाकुरले बताए।

हलेसी क्षेत्रमा जमिनभन्दा करिब १५० मिटरमुनिसम्म छेडेमा पानी निस्कने सर्भेक्षण टोलीले जनाएको छ। बोरिङबाट प्रतिसेकेन्ड १२ लि पानी निकाल्न सकिने योजना रहेको उपभोक्ता समितिले जनाएको छ। जिल्लाको सुक्खाग्रस्त क्षेत्र घोषित हलेसी तुवाचुङ नगरपालिकाको हलेसी तथा आसपासका गाउँमा अहिले वर्षाको पानी जम्मा गरेर र दूधकोसी नदीबाट गाडीमा बोकेर ल्याएको पानी उपभोग गर्ने गरिएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell