(1).jpg)
काठमाडौं : ऊर्जामन्त्री जनार्दन शर्माले एक महिनाअघि दुई वर्षभित्र नेपालबाट एलपी ग्यास हटाउने घोषणा गरे। यो घोषणाअघि जाडोयाममा ग्यासको बिक्री हुँदा समेत कुनै चिन्ता नलिर्इ बसेका ग्यास उद्योगीले बैठक डाके। नेपाल एलपी ग्यास उद्योग संघको बैठकमा सहभागी व्यवसायीले भने, 'अब घरायसी प्रयोजनमा मात्रै ग्यास बिक्री गरेर व्यवसाय टिकाउन सकिँदैन।'
बैठकपछि ग्यास प्रयोगको नयाँ क्षेत्र अध्ययनका लागि विज्ञ टोली बनायो। टोलीले अध्ययन गरेर ग्यास प्रयोगका क्षेत्रहरुका बारेमा प्रतिवेदन दिएपछि ग्यास उद्योगीहरुले नयाँ प्रोडक्ट बजारमा ल्याउनेछन्। तर अहिले नै ग्यास बोटलिङ प्लान्ट व्यावसायिक रुपमा टिक्न आवश्यक योजना बनाउन थालिसकेका छन्। व्यवसायीले 'बिजनेश मोडल' परिवर्तन गर्ने योजना बनाएका छन्।
लोडसेडिङ हटेपछि ग्यासको माग घटेको छ। घरायसी प्रयोजनमा मात्रै एलपी ग्यास बिक्रीमा केन्द्रित गरिरहेका व्यवसायीले ग्यास प्रयोगको नयाँ क्षेत्र खोज्न थालेका छन्। नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष शिवप्रसाद घिमिरेले लोडसेडिङ हटेपछि ग्यास बिक्रीको लागि नयाँ प्रोडक्ट ल्याउनेतर्फ योजना बनाउन थालेको बताए।
'अहिले हामीले घरायसी प्रयोजनमा केन्द्रित भएर ग्यास बिक्री गर्दै आएका थियौं, 'उनले भने, अब घरायसी प्रयोजनको ग्यास बिक्री गरेर टिकिरहन सकिँदैन।' उनले भौगोलिक अवस्था र विद्युतीकरण नपुगेकोले तत्कालै ग्यास विस्थापित नहुने बताउँदै तर ग्यासको वृद्धिदर भने कम भइसकेको बताए।
'ग्यास विस्थापित हुने अवस्था छैन। तर ग्यासको माग घटेको पनि छैन। ग्यासको वृद्धिदर भने कम भइसकेको छ,' घिमिरेले भने।
राजधानीमा जाडोयाममा लोडसेडिङ हटेपछि यो जाडोमा ग्यासको अभाव पनि भएन। विगतका केही वर्षदेखि लगातार ग्यासको खपत बढेर जाडोयाममा उपभोक्ताले अभाव भोग्नुपरेको थियो। जाडोयाममा ३० हजार टन ग्यास आउँदा फालाफाल भयो। घिमिरेले लोडसेडिङ अन्त्य भएकोले जाडोयाममा ग्यासको मागनै नभएको बताए।
घिमिरेका अनुसार यो जाडोमा ग्यास बिक्री नै भएन। ग्यास बिक्री नभएर धेरै ग्यास बोक्ने बुलेट रोकिएर बस्नुपर्ने अवस्था भयो। यो अवस्था देखेपछि ग्यास प्रयोगको नयाँ क्षेत्र खोज्नुपर्ने आवश्यकता देखेको उनी बताउँछन्।
ग्यासको खपत कम हुन थालेपछि संघले इण्डियन आयल कर्पोरेशनको एलपिजी विभागबाट निवृत्त भएका कर्मचारीलार्इ ग्यासको नयाँ क्षेत्र बारे अध्ययन गर्न जिम्मा लगाएको छ।
अध्ययनपछि ग्यासको खपत बढाउने गरी नयाँ क्षेत्रमा बिक्रीका लागि अघि बढाउने घिमिरेले बताए।
मनोज ग्यासका सञ्चालक मनोज दास भने घरायसी प्रयोजनमा मात्र ग्यास बिक्री गरेर उद्योग सञ्चालन गर्न नसकिने बताउँछन्। नयाँ क्षेत्रमा ग्यास बिक्री गर्नेतर्फ योजना बनाउन थालिएको जानकारी दिँदै उनी भन्छन्, 'औद्योगिक प्रयोजनमा ग्यास बिक्रीका लागि ठूलो सिलिण्डरमा ग्यास बिक्री गर्ने योजना अघि बढाउनुपर्छ।'
यसबाहेक सवारी साधनमा समेत एलपिजी ग्यास प्रयोगमा ल्याउनुपर्ने र सफा इन्धनको रुपमा एलपिजी ग्यासको प्रयोगलार्इ बढाउनुपर्ने दासले बताए।
लोडसेडिङका कारण पछिल्लो समयमा ग्यासको माग बढ्दो क्रममा थियो। सफा इन्धनको रुपमा ग्यासको प्रयोग हुन थालेपछि आर्थिक वर्ष २०५६/५७ देखि २०७१/७२ सम्मको १५ वर्ष अवधिमा ग्यासको खपत ७ सय ४३ प्रतिशतले बढेको देखिन्छ। यो अवधिमा ग्यासको वृद्धिदर बर्सेनि औसतमा १५ प्रतिशतको हाराहारीमा छ।