पोखरा : उपप्रधान एवम् सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री कमल थापाले स्थानीय तहको निर्वाचन तोकिएकै मितिमा हुने भएकाले अब चुनाव हुँदैन कि भन्ने आशङ्का नगर्न सबैसँग आग्रह गरेका छन्।
जिल्ला समन्वय समिति कास्कीबाट स्थानीय तह कार्यान्वयनको अवस्था, विकास निर्माणका गतिविधि र स्थानीय निर्वाचनको तयारीबारे जानकारी लिएपछि उनले असन्तुष्ट आन्दोलनरत दललाई चुनावमा सहभागी बनाउन विश्वासिलो वातावरण बनाउन सरकार हरसम्भव प्रयासरत रहेकाले चुनाव हुनेमा ढुक्क हुन आग्रह गरे।
'अब कुनै सहमति र सम्झौता भए पनि चुनाव रोकिँदैन 'उनले भने– 'चुनाव सार्ने तथा स्थगित गर्न कुनै सहमति र सम्झौता हुदैँन।'
देश अहिले संविधान कार्यान्वयनको ऐतिहासिक क्षणमा रहेको उल्लेख गर्दै उपप्रधानमन्त्री थापाले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकारले कुनै किसिमको कमी कमजोरी नगर्ने दृढता व्यक्त गरे।
उनले निर्वाचन सफल तुल्याउन सुरक्षा निकाय, स्थानीय प्रशासन र राष्ट्रसेवक कर्मचारीसँग आग्रह गरे।
उनले नयाँ संरचना लागू भए पनि स्थानीय तहमा कार्यरत कर्मचारीको सेवा, सुविधा र वृत्तिविकासमा भने कुनै नकारात्मक असर नपर्ने बताउँदै स्थानीय तहमा हुने विकास निर्माणको कार्यको पूँजीगत खर्च बढाउन र बेरुजु घटाउन आग्रह गरे। सो अवसरमा पश्चिमाञ्चलका क्षेत्रीय प्रशासक यमकुमारी खतिवडाले यस क्षेत्रको सुरक्षा अवस्था र जिल्ला समन्वय समितिका स्थानीय विकास अधिकारी बलराम ढकालले जिल्लाको स्थानीय तहको गतिविधिमाथि प्रकाश पारेका थिए। रासस