PahiloPost

May 2, 2025 | १९ बैशाख २०८२

चुनावका लागि नयाँ शक्तिको ६ शर्त, आइतबारदेखि आयोग कार्यालयमा धर्ना



पहिलोपोस्ट

चुनावका लागि नयाँ शक्तिको ६ शर्त, आइतबारदेखि आयोग कार्यालयमा धर्ना

काठमाडौं : नयाँ शक्ति पार्टी नेपालले निर्वाचन आयोग र निर्वाचन कार्यालयहरुमा धर्ना दिने भएको छ। नयाँ दललाई दलीय चुनाव चिह्नबाट वञ्चित गर्ने गरी जारी भएको स्थानीय तह निर्वाचन ऐन २०७३ संशोधनका लागि दबाब दिन भन्दै पार्टीले संघर्ष थालेको हो।

यसअघि नै बिहीबार प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएर नयाँ शक्तिले  ऐन संशोधनका लागि ४८ घन्टाको समयसीमा दिएको थियो। शनिबारसम्मको समयसीमा दिएर ऐन संशोधन नभए आइतबारदेखि आन्दोलन सुरु गर्ने घोषणा गरेको हो। सोही अनुसार आइतबार र सोमबार निर्वाचन आयोग र सम्पूर्ण निर्वाचन कार्यालयहरुमा धर्ना दिन लागिएको पार्टीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

निर्वाचन आयोगले तयार पारेको विधेयकमा उपदफा थपेर केही पार्टीहरुले षड्यन्त्र र बेइमानी गरेको भन्दै ऐन संशोधनका लागि संघर्ष गर्न बाध्य भएको नयाँ शक्तिले यसअघि नै पार्टीको धारणा सार्वजनिक गरेको छ। चैत १५ र १६ मा बसेको नयाँ शक्ति पार्टीको संघीय परिषद्को बैठकले दलकै चुनाव चिह्नबाटै चुनावमा भाग लिन पाउने गरी ऐन संशोधन नभएसम्म संघर्ष गर्ने निर्णय गरेको थियो। ऐन संशोधन लगायत निर्वाचनको वातावरणका लागि विभिन्न ६ वटा पूवशर्त राख्दै संघर्ष र निर्वाचनमा सहभागिताको नीति संघीय परिषद्को बैठकले लिएको छ।

नयाँ शक्तिका ६ शर्त

स्थानीय तह निर्वाचन ऐन संशोधनबाहेक निर्वाचनको वातावरण बनाउनका लागि नयाँ शक्तिले ६ शर्त अघि सारेको छ।

१. संविधान संशोधन मार्फत थारु, मधेशी, आदिवासी जनजातिका मागको सम्बोधन
२. विशेष, संरक्षित र स्वायत्त क्षेत्र सहितको राज्यको अग्रगामी पुन:संरचना
३. प्रभावकारी र निष्पक्ष निर्वाचका लागि सबै राजनीतिक दल र शक्तिहरुको प्रतिनिधित्व रहेको सर्वपक्षीय सरकार
४. स्वच्छ र प्रभावकारी निर्वाचनकालागि निर्वाचन खर्च राज्यले नै व्यहोर्ने विधिको विकास
५. केन्द्र–प्रदेश–स्थानीय तहको अन्तरसम्बन्ध, निर्वाचन खर्च र समय सीमालाई विचार गरेर एकैपटक तीन वटै निर्वाचन
६. स्थायित्व, विकास र समृद्धिका लागि संसदीय व्यवस्थाको विकल्पमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र पूर्ण समानुपातिक समावेशी व्यवस्थापिका।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell