
काठमाडौँ : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशमा राष्ट्रिय भावनाभन्दा जात, भूगोल र क्षेत्रको भावना ल्याउन खोजिएको बताएका छन्।
समसामयिक अध्ययन केन्द्रले आयोजना गरेको ‘वर्तमान संविधान र राष्ट्रियता’ विषयक विचार गोष्ठी कार्यक्रममा उनले जात, भूगोल, क्षेत्रको भावना ल्याउन खोजिएकाले अहिले राष्ट्रियता चाहिएको बताए।
उनले राष्ट्रियताका सवालमा कसैसँग कुनै पनि किसिमको सहमति गर्न नसकिने भन्दै सबै दल राष्ट्रियतामा एकमत भएर लाग्नुपर्ने धारणा राखे।
राष्ट्रियता अहिले जनतामा देखिएको बताउँदै उहाँले राष्ट्रिय हितभन्दा दलीय हितलाई माथि राखेर राजनीतिक दलले काम गरिरहेको आरोप समेत लगाए।
उनले देशमा कानुनको शासन नभएकाले देशमा समस्या बल्झिएको भन्दै कानुनी शासन चल्ने हो भने दुई वर्षभित्रमा देशको समस्या समाधान हुने दाबी गरे।
‘कानुनी शासन नभएकाले देशमा जसले जे गर्न पनि छुट पाएकाले देशमा समस्या भएको छ’, उनले भने ‘तीन तहको निर्वाचन गराएर संविधान कार्यन्वयनमार्फत कानुनी शासन लागू गर्नुपर्दछ।’ उनले तीनै तहको निर्वाचन गरेर लोकतन्त्र, कानुनको शासन र छिमेकीसँगको सन्तुलन कायम गर्ने धारणा राखे।’
पूर्वप्रधानमन्त्री ओलीले नेपालको समस्या बाहिरबाट भन्दा भित्रबाटै बढी बल्झिने गरेको बताए।
अध्यक्ष ओलीले अहिले संविधान संशोधनभन्दा पनि निर्वाचन आवश्यक भएकाले निर्वाचनको वातावरण बनाउन लाग्नुपर्नेमा पनि जोड दिए।
‘संशोधनका नाममा असान्दर्भिक कुरा ल्याएर निर्वाचन नगर्ने चलखेल भइरहेको छ, अहिले संशोधन गर्ने नभई निर्वाचन गर्ने बेला हो’, उनले थपे।
कार्यक्रममा एमाले उपाध्यक्ष भीम रावलले केही तत्वले देशमा जात अनुसारको राष्ट्रियताको कुरा उठाएर देशलाई साम्प्रदायिकतातर्फ धकेल्न खोजेको आरोप लगाए।
उनलेसंविधानमा उल्लेख गरिएको राष्ट्रियताको कुरा ढुक्क भएर भन्न केही दल अझै पनि डराइरहेको आरोप लगाए। उनलेसंविधानमा भएको राष्ट्रियता र सार्वभौमसत्ताको कुरा गर्नेलाई उग्रराष्ट्रवादी भन्नु संकीर्ण सोच रहेको धारणा राखे।
एमाले नेता लालबाबु पण्डितले राष्ट्रियतामा शीर्ष नेताहरुको संकल्प दृढ नभएकाले राष्ट्रियता खतरामा पर्नसक्ने चेतावनी दिए।
बरिष्ठ अधिवक्ता विश्वकान्त मैनालीले निर्वाचन गरेरमात्र अहिले देशको राष्ट्रियता जोगाउन सकिने बताए।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विभाग प्रमुख डा. खड्ग केसीले ‘नेपालको राजनीतिक विकासक्रम र राष्ट्रियता’का विषयमा कार्यपत्र प्रस्तुत गर्दै सबल अर्थतन्त्रको निर्माण गरेर राष्ट्रियतालाई सशक्त बनाउन सकिने उल्लेख गरे। रासस