
एजेन्सी : कोलम्वियाको दक्षिण पश्चिम इलाकामा भारी वर्षातपछि गएको पहिरोमा परी दुई सय भन्दा बढीको ज्यान ज्यान गएको छ। रातभर भएको वर्षापछि पुटुमायो प्रान्तमा गएको पहिरोका कारण ठूलो जनधनको क्षति भएको एजेन्सीहरुले उल्लेख गरेका छन्।
रेडक्रसका अधिकारीहरुका अनुसार पहिरोमा २२० जना हराइरहेका छन्। २०२ जना घाइते भएका छन्। स्थानीय अस्पतालहरुमा घाइतेको भीड लागेको छ।
राष्ट्रपति जुआन मान्युल सान्तोसले पहिरो प्रभावित क्षेत्रको अनुगमन गरेका छन्। राष्ट्रपतिले प्रभावित क्षेत्रमा आपतकालीन अवस्थाको घोषणा गरेका छन्। राहत र उद्दारका लागि सेना परिचालन गरिएको छ।
समाचार संस्था रोयटर्सका अनुसार उद्दारमा ११ सय सुरक्षाकर्मी परिचालित छन्।
कोलम्वियाको सरकारी मौसम विभागका अनुसार मार्च महिनामा सवैभन्दा बढी वर्षा हुने गर्छ। सन् २०११ देखि मार्चमा उच्च वर्षात भइरहेको विभागको भनाई छ। पुटुमायो प्रान्तको छिमेकी देश पेरुमा पनि वर्षातपछिको पहिरोका कारण ९० जनाभन्दा बढीको ज्यान गइसकेको छ।