
काठमाडौं : निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचनको मतदाता परिचयपत्र छपाइ आजदेखि सुरु गर्ने भएको छ। आइतबार बस्ने आयोगको बैठकले फागुन ९ गतेसम्म संकलित मतादाताको अन्तिम नामावली प्रकाशनका लागि अनुमोदन गरेसँगै परिचयपत्र र नामावली छपाइ सुरु हुनेछ।
तर, प्रदेश २ का ८ जिल्लाको मतदाता नामावली भने अझै अन्तिम टुंगो लागेको छैन। नामावली टुंगो नलागेसम्म प्रदेश २ को मतदाता नामावली र परिचयपत्र छपाइ सुरु हुनेछैन।
आयोगले मतदाता परिचयपत्र छपाइको जिम्मेवारी ओम्नी बिजिनेस कर्पोरेट इन्टरनेसनललाई दिएको छ। ओम्नीले परिचयपत्र छपाइ कटिङ लगायतका सबै सामग्री निर्वाचन आयोग परिसरमा तयारी अवस्थामा राखेको छ। मतदाता परिचयपत्र छपाइ आयोग परिसरमा नै हुनेछ।
उच्च सुरक्षा घेराभित्र दैनिक तीन सिफ्टमा परिचयपत्र छपाइ हुनेछ। झन्डै १० रुपैयाँ लागतमा एउटा परिचयपत्र तयार हुनेछ। परिचयपत्र छपाइ २० दिनमा सक्ने आयोगको तयारी छ। मतदाता नामावलीको छपाइ भने आयोगले आफ्नै छापाखानामा गर्नेछ।