काठमाडौं : शनिबार पानीसँगै परेको चट्याङबाट विभिन्न ठाउँमा धनजनको क्षति भएको छ।
सिन्धुपाल्चोकमा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। मृत्यु हुनेमा जुगल गाउँपालिका–७ निवासी ४६ वर्षीया सानुकान्छी तामाङ रहेकी छिन्। घरमा खाना पकाउँदै गर्दा चट्याङ परी उनको घटनास्थलमै मृत्यु भएको हो।
घटनामा मृतककी बुहारी २० वर्षीया सुकुरानी तामाङ घाइते भएकी छिन्। उनको अहिले जलवीरे प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय जलवीरेले जानकारी दिएको छ।
यस्तै कास्कीको अन्नपूर्ण गाउँपालिका घान्द्रुकस्थित छुन्द्रुङमा शनिबार साँझ परेको चट्याङ लागेर घाँस बोकेर घर फर्कदै गरेका १४ वर्षीय बहादुर गुरुङको घटनास्थलमै मृत्यु भएको छ।
मकवानपुर गढी गाउँपालिका–७ बस्ने २३ वर्षको जीतबहादुर स्यान्ताङ लामाको पनि गएराति ११ बजे चट्याङ लागेर मृत्यु भएको छ। घरमा बसिरहेको अवस्थामा चट्याङ लागेपछि घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। उक्त चट्याङको प्रभावले परिवारका तीन जना सदस्य सामान्य घाइते भएको र उनीहरु हेटौँडा अस्पतालमा उपचार गरी घर फर्किएको प्रहरीले जनाएको छ।राससको सहयोगमा