PahiloPost

May 2, 2025 | १९ बैशाख २०८२

निष्पक्ष र स्वतन्त्र अनुगमन गर्न सुरक्षा परिषद् सचिवालयलाई प्रधानमन्त्रीको निर्देशन



पहिलोपोस्ट

निष्पक्ष र स्वतन्त्र अनुगमन गर्न सुरक्षा परिषद् सचिवालयलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सुरक्षा परिषद् सचिवालयलाई राष्ट्रिय सुरक्षासम्बन्धी नीतिको स्वतन्त्र र निष्पक्ष ढङ्गले अनुगमन गर्न निर्देशन दिएका छन्।

सचिवालयको १६औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सचिवालयले विद्यमान परिस्थितिमा समग्र विषयवस्तुको अध्ययन, अनुसन्धान र विश्लेषण गरी राष्ट्रिय सुरक्षा परिषद् र नेपाल सरकारलाई राय–सुझाव प्रदान गर्न सक्षम हुनुपर्नेमा जोड दिए। कार्यक्षेत्र र जिम्मेवारीलाई थप सशक्त, व्यावसायिक र गरिमामय बनाउन आवश्यक रहेको उनको भनाइ छ।

सचिवालयले राष्ट्रिय सुरक्षामा अहम् भूमिका खेल्दै आइरहेको बताउँदै प्रधानमन्त्री दाहालले भने, 'विश्वको वर्तमान परिवेशमा सुरक्षा भन्नाले विविध क्षेत्रभित्रका बहुआयामिक विषयवस्तु समेटिएको राष्ट्रिय सुरक्षाको बृहत् रणनीति हो भन्ने बुझ्नु पर्दछ।'

भूमण्डलीकरण तथा प्रविधिको द्रुत विस्तारले अन्तर्राष्ट्रिय अपराधीले सहजरुपमा सूचना, स्रोतसाधन तथा जनशक्ति प्राप्त गर्दै आइरहेको हुँदा कुनै पनि मुलुकलाई अन्तर्राष्ट्रिय सुरक्षा वातावरणबाट समेत अलग रहन मुस्किल रहने उनले बताए।

बैठकमा उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि, रक्षा मन्त्री बालकृष्ण खाँण र प्रधान सेनापति राजेन्द्र क्षत्रीको उपस्थिति थियो।

प्रधानमन्त्री अध्यक्ष रहने व्यवस्था रहेको सुरक्षा परिषद्का सदस्यमा रक्षा, गृह, परराष्ट्र र अर्थमन्त्री, मुख्य सचिव र प्रधान सेनापति रहने व्यवस्था रहेको छ। रक्षा मन्त्रालयको सचिवले राष्ट्रिय सुरक्षा परिषद्को सदस्य–सचिव भई काम गर्ने संवैधानिक व्यवस्था रहेको छ। राष्ट्रिय सुरक्षा परिषद्ले आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गर्ने र त्यो प्रतिवेदन राष्ट्रपतिले प्रधानमन्त्रीमार्फत सङ्घीय संसद्समक्ष पेस गर्न लगाउने व्यवस्था छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell