तिलोत्तमा (रुपन्देही) : आर्थिक गतिविधिले चलायमान रुपन्देहीमा सेवामूलक उद्योग खुल्ने क्रम तीव्र भएको छ।
पछिल्ला वर्षमा होटल तथा रेस्टुराँ, पर्यटन उद्योग, फर्निचर, खाद्य, राइसमिल, इन्जिनियरिङ वर्कसप, कृषि, पशुपक्षी, मत्स्यपालनलगायत उत्पादनमूलक उद्योगको सङ्ख्या उल्लेख्य रुपमा बढेको छ।
पछिल्लो ५ वर्षमा पाँच हजार तीन सय ८६ उद्योग दर्ता भएका घरेलु तथा साना उद्योग कार्यालयका उद्योग अधिकृत युवराज पौड्यालले जानकारी दिए। सेवामूलक उद्योग दुई हजार तीन सय ७० रहेका छन्।
'सेवामूलक उद्योग अहिले धेरैको रोजाइ बन्ने गरेको छ,' उनले भने। जिल्लामा करिब १० हजारको हाराहारीमा साना तथा ठूला उद्योग सञ्चालनमा रहेका छन्। रु १५ लाखदेखि रु पाँच कारोडसम्मको लगानीमा उद्योग खुल्ने क्रम जारी रहेको पौड्यालले बताए।
सेवामूलक उद्योग वृद्धि हुनुमा भारतबाट कच्चापदार्थ ल्याउन सजिलो तथा यहाँ प्रशोधन गरिएका वस्तु अन्य जिल्लामा पुर्याउन सहज भएको रुपन्देही उद्योग सङ्घका अध्यक्ष दिनेशराज रेग्मीले बताए।
यहाँका ठूला र मझौला उद्योग अधिकांशमा भारतीय कामदारले रोजगारी पाए पनि साना तथा घरेलु उद्योगमा भने नेपाली कामदारले नै रोजगारी पाएका छन्। यहाँ सञ्चालित उद्योगमा करिब ६० हजार व्यक्तिले रोजगारी पाएको अनुमान छ। बुटवल उद्योग वाणिज्य सङ्घका महासचिव हरि अर्याल खाद्य वस्तु प्याकिङ गर्ने, होटल, ट्राभल्स एजेन्सीको सङ्ख्यामा वृद्धि भएको बताउँछन्।
घरेलु तथा सना उद्योग कार्यालयका अनुसार पछिल्लो पाँच वर्षमा सेवामूलकतर्फ दुई हजार तीन सय ७०, उत्पादानमूलकतर्फ एक हजार नौ सय ९७, पर्यटन उद्योग ६ सय ८५ र कृषि तथा वनजन्य उद्योग दुई सय ९४ रहेका छन्। कार्यालयमा रु तीन करोडभन्दा कम स्थिर पूँजी भएका उद्योग मात्र दर्ता हुने गरेका छन्। सरकारले रु तीन करोडसम्मका उद्योगलाई साना, रु तीन करोडदेखि रु १० करोडसम्मकालाई मझौला र रु १० करोडभन्दा बढी लगानी भएका उद्योगलाई ठूला उद्योगमा दर्ता गर्ने गर्छ। रासस