PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

अपराधमा प्रहरी! हवल्दारको कमाण्डमा यसरी लुटियो सुन पसल



सविन ढकाल

अपराधमा प्रहरी! हवल्दारको कमाण्डमा यसरी लुटियो सुन पसल

काठमाडौँ : 'तपाईंले तस्करीको सुन ल्याएर गहना बनाउने गर्नुभएको रहेछ, हामीले सुराकी पायौँ। सबै पोको पार्नुस्।' शुक्रबार साँझ ७ बजेतिर ६ जनाको समूह काठमाडौंको मरुहिटीमा सुन बनाउने कारखाना भित्र छिर्योय।

समूहकै एकले भने- 'हामी प्रहरी हौं।' त्यतिखेर भारतको कलकता घर भई सोही कारखानामा काम गर्ने मोलाई विश्वास त्यहीँ थिए। यति भनेर एक व्यक्तिले विश्वासको कन्चटमा पेस्तोल तेर्स्याए।

उनीसहित त्यहाँ भएका सबैको सातोपुत्लो उड्यो। 'उनीहरुको हातमा हतकडी र पेस्तोल समेत थियो। आफूलाई प्रहरी भएको बताइरहेका थिए,' विश्वासले भने, 'हामीलाई कुटपिट गरेर बनाउँदै गरेको गहना ६४ तोला, नगद १३ हजार र चार वटा मोबाइल लिएर निस्किए।'

उनीहरु निस्केपछि सुन पसलेले प्रहरी नभएको आशंका गरेर तत्काल प्रहरीमा उजुरी दिए। उजुरी परेको केही समयमै प्रहरी लुटेराको खोजीमा लाग्यो। घटनाको २४ घन्टा बित्न नपाउँदै सुनसहित ६ जना पक्राउ परे। तर पक्राउ परेका व्यक्तिसँगको बयानमा प्रहरीलाई नै चकित बनाउने रहस्य खुल्यो। सुन लुट्न जाने नक्कली प्रहरी नभई सक्कली नै रहेछन्- महानगरीय प्रहरी वृत्त स्रोहखुट्टेका प्रहरी हवल्दार बलबहादुर मगर, प्रहरी जवान नवीन ढकाल र अजय गुरुङ। उनीहरुकै योजनामा लुटपाटको योजना बनाइएको खुलेको महानगरीय प्रहरी महाशाखा एसएसपी दिनेश अमात्यले बताए। संलग्नमध्ये अजय गुरुङ पक्राउ परे पनि मगर र ढकाल भने फरार छन्।

अपराधमा प्रहरी
प्रहरीको नाम लिएर लुट्ने र ठग्ने गरेका थुप्रै घटना छन् तर प्रहरी नै संलग्न भएका घटना भने पछिल्लो समय देखापर्न थालेकै छ। चैत २ गते एक व्यापारीको अपहरण गरी फिरौती लिएको अभियोगमा महाशाखमा कार्यरत संवत लामा र गौशाला वृत्तका सई सूर्यबहादुर थापा पक्राउ परे। उनीहरु अहिले हिरासतमा छन्। महाशाखाका एसएसपी दिनेश अमात्य अपराधमा संलग्न भइसकेपछि ऊ प्रहरी नभएर अपराधी भएकाले अपराधी सरह रहने बताउँछन्।

पुस २१ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिँदै गरेको ३३ केजी सुन सहित केही व्यत्ति पक्राउ परे। त्यसमा एसएसपी श्याम खत्री पनि मुछिए। सुनको तस्करीमा संलग्न विमानस्थलमा नै कार्यरत खत्री अहिले अदालतमा धरौटी बुझाएर छुटेका छन्।

केही दिनअघि मात्र धनुषामा चोरीको आरोपमा एक प्रहरी हवल्दार पक्राउ परेका छन्। जनकपुरको एयरपोर्टस्थित श्याम चोक नजिकै फैसा लुट्ने कार्यमा संलग्न रहेको आरोपमा हवल्दार धर्मेन्द्र पासवान पनि प्रहरीको नजरबाट उम्किन सकेनन्।

शान्तिसुरक्षा कायम राख्न र अपराध नियन्त्रणमा कर्तव्य निर्वाह गर्ने प्रहरी नै किन पछिल्लो समय आपराधिक गतिविधिमा मुछिइरहेका छन्? प्रश्न उब्जिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell