
अमेरिकी शहर सिकागोमा १४ वर्षीय एक किशोर यौन उत्पीडनको अरोपमा पक्राउ परेका छन्। १५ वर्षीय युवतीमाथि सामूहिक यौन उत्पीडन गरेको आरोपमा उनी पक्राउ परेका हुन्। यौन उत्पीडन घटनाको फेसबुकमा लाइभ स्ट्रिमिङ गरिएको थियो।
नावालक भएका कारण प्रहरीले ती युवकको नाम सार्वजनिक गरेको छैन। तर, अपराधिक क्रियाकलापमा उनीविरुद्ध मुद्दा लगाइको छ। ‘चाइल्ड पोर्नोग्राफी’को प्रचारप्रसार गरेको आरोपमा मुद्दा चलाइएको छ।
अघिल्लो महिनाको यो घटनामा ती युवासहित अन्य ५–६ जनाले नावालिका युवतीमाथि यौन उत्पीडन गरेका थिए। फेसबुक लाइभ स्ट्रिमिङ ४० जनाले हेरेको भए पनि कसैले पनि प्रहरीलाई उजुरी गरेका थिएनन्।
१९ मार्चमा परिवारको साथ चर्च गएकी युवती हराएकी थिइन। २१ मार्चमा युवती घर फर्कदा उनीमाथिको यौन उत्पीडनको घटना फेसबुकमा आइसकेको थियो। युवती घर फर्किए पनि परिवारले सुरक्षाको कारण देखाएर निवास बदलेका छन्। सिकागो प्रहरीले घटनामा संलग्न अन्यलाई पनि पक्राउ गर्ने भरोसा परिवारलाई दिलाएको छ।
फेसबुक प्रवक्ताले यस्ता घटना जघन्य अपराध भएकाले फेसबुकले यस्ता कन्टेन्टलाई अनुमति नदिने बताइन। उनले भनिन् ‘यस प्रकारका घटना जघन्य अपराध हुन्। हामी यस प्रकारका कन्टेन्टलाई अनुमति दिन सक्दैनौं। फेसबुकमा नागरिकको सुरक्षा सुनिश्चितता हाम्रो जिम्मेवारी हो। हामी यौन उत्पीडन र हिंसा बढाउने सवै भिडियो हटाउँछौं।’