
काठमाडौं : स्विटजरल्यान्डमा हुने ‘फ्रिवर्ग अन्तर्राष्ट्रिय फिल्म महोत्सव’मा नेपालबाट १९ नेपाली फिल्म प्रदर्शन हुने भएको छ।
‘न्यु टेरिटरी’ विधा अन्तर्गत १४ नेपाली फिचर फिल्म र ५ सर्ट फिल्महरुको विशेष प्रदर्शनी हुने भएको हो। फिचर फिल्म अन्तर्गत नेपालको पहिलो रंगीन चलचित्र कुमारी लगायत सिन्दुर, वासुदेव, कागबेनी, नुमाफुङ, मुकुन्डो, सुनगाभा, लुट, सेर्दाक, कालो पोथी, हु वील बी अ गुर्खा, सुन्तली, हाइवे, व्हाइट सन (सेतो सूर्य), लगायतका फिल्म प्रदर्शन हुनेछन्। त्यस्तै सर्ट फिल्ममा दद्या, झा लो, काफल पाक्यो, मलामी, छोरा र भ्वाइस लेस प्रदर्शन हुनेछन्।
नेपालमा छायांकन गरिएका विदेशी फिल्महरु हलिउडको एभरेस्ट, कोरियाको हिमालय, जापानको एभरेस्ट–समिट अफ द गड्स, एरिक भ्यालीको डकुमेन्ट्री हिमालयन गोल्ड रस पनि देखाइने बताइएको छ।
चलचित्र विकास बोर्डका चिरञ्जीवी गुरागाईले यो फेस्टिभललाई नेपाली फिल्महरुको लागि अवसरको रुपमा लिएका छन्। महोत्सवमा प्रत्येक फिल्म कम्तीमा दुई पटक प्रदर्शन गरिने उनले जानकारी दिए।
मार्च ३१ देखि अप्रिल ९ सम्म हुने अवार्ड इन्टरनेसनल डी फिल्म्स फ्रिवर्गको आयोजनामा हुन लागेको हो।