
काठमाडौं : नेपाल प्रहरीका पूर्व एआइजी डा. गोविन्द थापाले बाटो मिचेर आफ्ना अर्दली राख्ने घर तथा पार्किङ स्थल निर्माण गरेको स्थानीयबासिन्दाले आरोप लगाएका छन्।
ललितपुरको ताल्छीखेल हुँदै उमामहेश्वर मन्दिरतर्फ जाने मिचेपछि आफूहरुलाई समस्या भएको पीडितहरुले गुनासो गरेका छन्।
आफूहरुको पहुँच नभएकाले वर्षौंदेखि प्रताडना खेपिरहनुपरेको कुलबहादुर बुढाथोकीले बताए।
पत्रकार सम्मेलनमा उनले भने, 'विदेशमा रगत–पसिना चुहाएर कमाउँदै ४० वर्षपछि रमाउने उद्देश्यले ताल्छीखेलमा जग्गा किनेको थिएँ, तर अहिले ६० कटिसकेँ, रमाउन पाएको छैन। उल्टो पीडाको पोको बोकेर भौँतारिइरहेको छु।’
पूर्व एआइजी थापा र उद्योगपति कान्छा थापाले शक्तिको आडमा सार्वजनिक सरोकारको बाटो थुनेको पीडितहरुको आरोप छ।
बद्नियतपुर्वक बाटो छेकेका कारण ललितपुर उपमहानगरपालिका १४ स्थित कित्ता नम्बर ५८१, ५८२, २९१, २९२, २९३ र ४७ का जग्गाधनी प्रत्यक्ष प्रभावित भएको उनीहरुको भनाइ छ।