अमेरिका (क्यालिफोर्निया) : प्रवासी नेपाली मञ्च अमेरिकाको मार्च ३१ देखि अप्रिल २ सम्म बाल्टिमोर मेरिल्यान्डमा सम्पन्न दोस्रो अधिवेशनले प्रभु थापालाई अध्यक्ष पदमा चयन गरेको छ। थापाले खसेको कुल एक सय ४३ मतमध्ये ८५ मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी जनक रानाले ५६ मत प्राप्त गरे।
मञ्चको वरिष्ठ उपाध्यक्षमा टेक गुरुङ, उपाध्यक्षमा यमुना भट्टराई, महासचिवमा राधाकृष्ण देउजा, उपमहासचिवमा कृष्णप्रसाद लामिछाने र कोषाध्यक्षमा हेमन्त भेटुवाल निर्वाचित भएका छन्। अमेरिकाको विभिन्न राज्यमा रहेका राज्य समितिअन्तर्गत आज भएको निर्वाचनमा कुल एक सय ६३ मतदाता थिए। रासस