PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

निमित्त आइजी अझै अफिस टाइमपछि भरोसा अस्पताल पुग्छन्, बिरामी जाँच्छन्



सविन ढकाल

निमित्त आइजी अझै अफिस टाइमपछि भरोसा अस्पताल पुग्छन्, बिरामी जाँच्छन्

काठमाडौँ : ७२ हजारको संगठन नेतृत्व गर्ने प्रहरीको शीर्ष नेतृत्वको जिम्मेवारी विवाद अदालतमा फँसेपछि 'उपचार' खोज्ने क्रममा सरकारले नेपाल प्रहरी अस्पतालका प्रमुख डा. दिनेशचन्द्र पोखरेललाई निमित्त प्रहरी महानिरीक्षक बनायो।

डा. पोखरेल नेपाल प्रहरी अस्पतालका मात्र डाक्टर होइनन्, उनी नयाँ बानेश्वरमा संचालन भइरहेको आफ्नो भरोसा अस्पताल प्रा.लि. का पनि डाक्टर हुन्। 

सरकारले फागुन २ गते उनलाई प्रहरीको निमित्त आइजीपीमा नियुक्त गर्दा केही दिनमै आइजी नियुक्ति विवाद सल्टिने अनुमान थियो। 

उनलाई निमित्त दिन प्रहरी नियमावली संशोधन गर्नुअघिसम्म एक महिनालाई मात्र निमित्त दिन सकिने प्रावधान पनि थियो। तर आज एक महिना नाघेको तेस्रो हप्तासम्म पनि भावी आइजीको टुङ्गो लागिसकेको छैन। 

निमित्त आइजी भएको केही दिनसम्म उनी भरोसा पुगेनन्। तर बिरामीको उपचार गर्न रमाउने पोखरेल के चुप बस्न सक्थे। अहिले उनी बिरामी जाँच्न पुग्छन् कि पुग्दैनन्? यही बुझ्न गएको साता बिरामी भनेर अस्पताल पुग्दा त्यहाँका कर्मचारीले उनी केही समयदेखि नियमित रुपमा अस्पताल आउने गरेको जानकारी दिइन्। 
 
सोधपूछ कक्षमा रहेका कर्मचारीलाई पोखरलेलाई चेकजाँचको लागि भेट्न समय लिँदा उनले भनिन्, 'अहिले डाक्टर साबको समय प्याक छ। टिकट काटेर जानु, अर्को बिहीबार भेट्न सकिन्छ।' 

हामीले अर्जेन्ट बिरामी हो भन्दै आजभोलि कै समय मिलाउन अनुरोध गर्दा पनि ती कर्मचारीले बिरामीको चाप धेरै नै भएको भन्दै समय नभएको बताइन्। 

कर्मचारीले दिएको जानकारी अनुसार उनी दैनिक साँझ ६ बजेदेखि ७ बजेसम्म अस्पताल पुगेर बिरामी जाँच्ने गर्छन्। दैनिक ४ जना बिरामीलाई बढीमा १५ मिनेट समय दिएर हेर्ने गर्छन्। 

केरलाबाट एमबीबीएस गरेका पोखरेलले ढाकाबाट एमडी गरेका हुन्। पेट, आन्द्रा, लिभर, पाचन एवं मधुमेह रोग विशेषज्ञ रहेका पोखरेल भरोसा अस्पतालका सिनियर कन्सल्टेन्ट फिजिसियन हुन्। 

उनको नेतृत्व क्षमताको प्रहरी प्रशासनमा अहिले परीक्षण भइरहेको छ। तर चिकित्सा क्षेत्रमा भने उनी धेरैको विश्वास जितेका व्यक्ति हुन्।
भरोसा भएका डाक्टर नै व्यस्त भएपछि भरोसा अस्पतालमा पालो कुर्ने बिरामीहरु चिन्तित देखिए। काठमाडौं बेसिगाउँमा बस्दै आएका दधिराम दाहाल त्यस्तै एक बिरामी हुन्। 

पोखरेललाई नै जँचाएर उपचार गरेपछि समस्या समधान हुँदै गएको बताउने दाहाललाई उनले दिएको ‌औषधि सकिन लाग्दैछ। आफ्नो डाक्टर प्रहरी प्रमुख भएपछि बिरामी चेकजाँच नै नगर्ने हो कि भन्ने चिन्ता उनमा देखियो। 

कसरी पाए डाक्टरले जिम्मेवारी?

तत्कालीन प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालको पदावधि सकिनु एकदिन अघि मन्त्रिपरिषद्को बैठकले डिआइजी जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्ने निर्णय गर्‍यो।
 
तर त्यसको केही घण्टामा नै सर्वोच्च अदालतले त्यो निर्णय कार्यान्वयन नगर्न नगराउन अन्तरकालीन अन्तरिम आदेश दियो। यसले जटिल अवस्था सिर्जना गरिदियो। एकातर्फ अर्यालको पदावधि सकिँदै थियो, अर्कोतिर उनका उत्तराधिकारी निश्चित हुन सकेको थिएन। 

सरकारसँग आइजीको पद खाली हुँदाको अवस्थामा तत्कालका लागि आफूले आइजी नियुक्त गरेको चन्दलाई नै निमित्त दिने वा वरिष्ठतामा अगाडि रहेका डिआइजी नवराज सिलवाललाई दिने अथवा अरु डिआइजीहरुलाई दिने विकल्प थियो। 

यी डिआइजीहरुभन्दा वरिष्ठ एआइजी डा. दिनेशचन्द्र पोखरेल थिए तर उनी प्रहरी सेवातर्फ प्राविधिक समूहका थिए। 

प्रहरी नियमावलीमा प्राविधिकतर्फका अधिकृतलाई निमित्त दिन मिल्ने या नमिल्ने केही उल्लेख छैन। तर प्राविधिक प्रहरीको नियमावलीमा भने प्राविधिक प्रहरीको माथिल्लोतहको पद एआइजीसम्म मात्रै हुने उल्लेख गरेर आइजीपी हुने बाटो रोकेको छ।

३ वर्ष अगाडि एआइजी नियुक्त नहुँदा आइजीपी उपेन्द्रकान्त अर्यालले प्राविधिकतर्फका एआइजी रामनाथ सिंहलाई निमित्त दिँदा नियमावली संशोधन भएको थिएन।

तर सरकारले आइजीमा जयबहादुर चन्दलाई नियुक्त गर्ने निर्णय गरेसँगै प्रहरीबारे सर्वोच्च अदालतमा रिट पर्ने क्रम शुरु भएपछि निमित्तको विषयसमेत अदालत पुग्नसक्ने देखेर सरकारले फागुन २ गते बैठकमार्फत् हतारमा नियमावली संशोधन गरेर कानुनी व्यवस्था नै गरेर डा. पोखरेललाई निमित्त दिएको थियो। 

'अर्को व्यवस्था नभएसम्म' का लागि तोकिएको निमित्त प्रमुखको जिम्मेवारी हालसम्म कायमै छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell