PahiloPost

Jan 7, 2025 | २३ पुष २०८१

प्रदेश नम्बर २ मा मतदान केन्द्र तोक्न निर्वाचन आयोगको ताकेता



रमेश वाग्ले

प्रदेश नम्बर २ मा मतदान केन्द्र तोक्न निर्वाचन आयोगको ताकेता

काठमाडौं : निर्वाचन आयोगले प्रदेश नम्बर २ मा मतदान केन्द्र नतोक्दा मतदाता नामावली वर्गीकरणदेखि मतदाता परिचयपत्र प्रकाशनमा समेत समस्या परेको छ। आयोगले त्यही कारण अन्यत्रको मतदाता नामावली वर्गीकरण सकेर परिचयपत्र छपाइ सुरु गरेको छ। तर २ नम्बर प्रदेशमा भने मतदाता नामावली वर्गीकरण र परिचयपत्र प्रकाशनसम्मको काम सुरु हुन सकेको छैन।

मतदान केन्द्र तोक्नका लागि स्थानीय तहमा क्रियाशील दल सम्मिलित मतदान केन्द्र निर्धारण समिति हुन्छ। त्यही समितिको सिफारिसमा निर्वाचन आयोगले मतदान केन्द्र निर्धारण गर्छ।

तर, मधेसकेन्द्रीत दलको कारण देखाउँदै सत्तारुढदेखि प्रमुख प्रतिपक्षी दलसम्मले स्थानीय तहमा मतदान केन्द्र निर्धारण गर्न तत्परता नदेखाउँदा निर्वाचन आयोग अप्ठेरोमा छ।

'निर्वाचन आयोगले अरु सबै तयारी अघि बढाएको छ र कुनै समस्याबिना अन्तिम चरणमा पनि प्रवेश गर्दैछ,' निर्वाचन आयुक्त सुधीरकुमार शाहले भने, 'तर २ नम्बर प्रदेशमा मतदान केन्द्र नतोकिँदा हामीले मतदाता नामावली प्रकाशन गर्नेदेखि मतदाता परिचयपत्र छाप्नेसम्मका काम गर्न पाएका छैनौं।'

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर २ नम्बर प्रदेशका जिल्लामा मतदान केन्द्र तोक्ने काम गर्न आग्रह गरेका छन्।

'सत्तारुद्ध दल गएपछि प्रतिपक्ष पनि सँगै त्यहाँ पुग्ने छ,' आयुक्त शाहले भने, 'प्रमुख आयुक्तज्युले प्रधानमन्त्रीलाई भन्नुभएको छ, त्यसपछि सबै दल चुनावको तयारीमा होमिनेछन्।' यादवले प्रधानमन्त्रीलाई सहमति हुन्छ भने चाँडो सहमति गरेर स्थानीय तहमा चुनावी वातावरण निर्माण गर्न मतदान केन्द्र तोक्नुपर्ने बताएको आयुक्त शाहले जानकारी दिए।

सत्तारुद्ध दलहरु भने मधेसी मोर्चासँग वार्ता गरेर सहमतपछि मधेस जाने प्रयत्न गरिरहेका छन्। मोर्चाले गत शुक्रबारको बैठकमा संशोधन प्रस्तावबाहेक मतदाता नामावली पुनः संकलन र स्थानीय तहको संख्या थप्नेसम्मका माग थपेपछि नेपाली कांग्रेसका प्रतिनिधिले मोर्चा सहमतिका पक्षमा नभएको आरोप लगाएका थिए। त्यसपछि मोर्चासँग सहमति गर्न २० गते सम्मको समय मागेको थियो।

मोर्चासँग अनौपचारिक बैठकमा सहमतिको खाका तयार पार्ने र प्रमुख दलका शीर्ष नेतालाई औपचारिक बैठकमा डाक्ने प्रधानमन्त्रीले बताए पनि अहिलेसम्म औपचारिक बैठक डाक्न सकेका छैनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell