
काठमाडौँ : नेकपा एमालेले गाउँपालिकामा उम्मेदवार बनेको व्यक्ति प्रदेश र संसद्को निर्वाचनमा उम्मेदवार बन्न नपाउने निर्णय गरेको छ।
एमालेको स्थायी समिति बैठकले आकांक्षी व्यवस्थापनका लागि एक पदमा एक व्यक्ति मात्र उम्मेदवार बन्न पाउने व्यवस्था गरेको हो। पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको स्थायी समिति बैठकले निर्वाचन घोषणापत्र निर्माणका लागि उपाध्यक्ष बामदेव गौतमको नेतृत्वमा १५ सदस्यीय समिति बनाएको छ।
बैठकपछि एमाले सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले घोषणापत्र निर्माणसँगै निर्वाचनको अनुगमनका लागि महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा समिति गठन गरेको जानकारी दिए।
त्यस्तै एमाललेले निर्वाचन आयोगसँग समन्वयको जिम्मा भने संसदीय दलका उपनेता सुवास नेम्वाङलाई दिएको छ।
एमालेको स्थायी समितिले उम्मेदवार छनौटको कार्यतालिकासमेत पारित गरेको छ। जसअनुसार एमालेको सम्पूर्ण उम्मेदवारको टुङ्गो आउँदो वैशाख १२ गते लाग्नेछ। निर्वाचन आयोगको कार्यतालिकाअनुसार वैशाख १६ गते उम्मेदवारी दर्ता गर्नुपर्ने छ।
एमालेले वडा कमिटीहरुलाई चैत ३० गतेसम्म सम्भावित उम्मेदवारको टुङ्गो लगाएर सिफारिस गर्न निर्देशन दिएको छ। त्यस्तै नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकालालाई सम्भावित उम्मेदवारको सिफारिस गर्ने मिति वैशाख ४ तोकेको छ। जिल्ला कमिटिलाई वैशाख ७ र प्रदेश कमिटीलाई वैशाख १० गतेसम्म सिफारिस केन्द्रमा पठाउन एमालेले निर्देशन दिएको छ।
उमेम्दवारको टुङ्गो भने वैशाख १२ गते एमाले स्थायी समितिले लगाउने पार्टी सचिव प्रदिप ज्ञवालीले जानकारी दिए। 'हामीले सबैको सहभागितामा 'पार्टीसिपेटरी मोडल'मा उम्मेदवार छनौट गर्ने भएकाले समय लाग्ने भएको हो', ज्ञवालीले पहिलोपोस्टसित भने।