PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

निर्वाचनका लागि मात्र ४० दिन बाँकी, तर अहिलेसम्म न उम्मेदवारको टुङ्गो, न प्रचार सुरु



मनोज सत्याल

निर्वाचनका लागि मात्र ४० दिन बाँकी, तर अहिलेसम्म न उम्मेदवारको टुङ्गो, न प्रचार सुरु

काठमाडौँ : सरकारले स्थानीय तहको निर्वाचनको घोषणा गर्दा निर्वाचन आयोगसँग तयारीका लागि मात्र ८२ दिन थियो। ८३ औँ दिनमा आयोगलाई निर्वाचन सम्पन्न गराउनु थियो।

स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले 'ओके' भनेर सहमति जनाउँदा स्थानीय तहको संख्यासमेत टुङ्गो लागिसकेको थिएन। संख्या मात्र होइन आयोगलाई कस्तो स्थानीय तह बन्छ जसमा निर्वाचन गराउनुपर्ने हो भन्ने अन्यौल  थियो। न स्थानीय तह (नगरपालिका र गाउँपालिका)का नाम थिए न ती तहको सीमाङ्कन नै। 

९ फागुनमा सरकारले निर्वाचनको मिति घोषणा गरेपनि २५ फागुनमा मात्र स्थानीय तह पुन: संरचना आयोगको प्रतिवेदन निर्वाचन आयोगले पाएको थियो। अर्थात् प्रतिवेदन पाउँदा आयोगसँग ६७ दिनमात्र थियो। आइतबार निर्वाचन आयोगले मतदाताको नामावली प्रकाशन गरेको छ। अर्थात् नामावली प्रकाशनसम्म आइपुग्दा आयोगलाई निर्वाचन सम्पन्न गराउन मात्र ४१ दिनको समय छ। 

निर्वाचन आयोगसँग मात्र होइन निर्वाचनको प्रचार प्रसारका लागि दलहरुसँग पनि समय छैन। निर्वाचन आयोगले तयार गरेको कार्यतालिका अनुसार आउँदो बैशाख १६ गते मात्र उम्मेदवारी दर्ताको कार्यक्रम छ। अर्थात् उम्मेदवारले प्रचार प्रसारका लागि निकै कम समय पाउँदैछन्। 

अझ स्वतन्त्र निर्वाचन चिह्नमा निर्वाचन लड्नु पर्ने दलहरुले भने आफ्नो चिन्हको प्रचारका लागि १२ दिनको मात्र समय पाउनेछन्। त्यसमा पनि निर्वाचन अघि प्रचार प्रसार गर्न नपाइने ७२ घण्टाको समय घटाउने हो भने उम्मेदवारहरुले प्रचारका लागि मात्र ९ दिनको समय पाउँदैछन्। 

एमाले सचिव प्रदिप ज्ञवाली उम्मेदवारलाई प्रचार प्रचारको समय कम रहेको स्वीकार गर्छन्। 'हो, समय अलिक कम नै छ। तर हामीले उम्मेदवार छनौटका लागि तलदेखि सहभागितामूलक व्यवस्था गरेका छौँ। माथिदेखि उम्मेदवार तोकेर प्रचारमा लगाउनु भन्दा त उम्मेदवार छनौटमा ध्यान दिनु उचित हो', ज्ञवाली भन्छन्, 'निर्वाचन आयोगले पनि उम्मेदवारी दर्ता १६ गते राखेको छ।'

नेपाली कांग्रेसका नेता एवम् घोषणापत्र समितिमा रहेका डाक्टर रामशरण महत समय कम भएपनि स्थानीय निर्वाचन भएकाले 'कमि' को रुपमा अर्थ्याउन नहुने बताउँछन्। 

'कम त हो नै, तर जसरी निर्वाचनका लागि छोटो समय तय भयो, उम्मेदवारी दर्ता भएपछि पनि १५ दिन समय भएकाले गाउँपालिका र नगरपालिकाका उम्मेदवारसँग हुन्छ। उसले चार पाँच वटा गाउँमा कार्यक्रम गर्न सक्छ', महत भन्छन्, 'राष्ट्रिय लेभलको निर्वाचन होइन, १५ दिन स्थानीयमा ठीकै हो।'

तर महानगरपालिकाका उम्मेदवारहरुका लागि भने प्रचारको समय कम हुने देखिन्छ। काठमाडौँ महानगरपालिकामा ९ लाख मतदाता समक्ष उम्मेदवारलाई झण्डै ९ दिनको समयमा पुग्नुपर्ने हुन्छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell