
अनन्तराज न्यौपाने
विराटनगर : आचारसंहिताका कारण तत्काल महानगरपालिका घोषणा हुन नसकेको मोरङको विराटनगर उपहानरपालिकाको प्रमुख को होला? राजनीतिक वृतमा चर्चा बढ्दैछ।
औपचारिक रुपमा उम्मेदवारी घोषणा नभए पनि पूर्वी नेपालको विराटनटरमा चुनावी सरगर्मी बढेको छ। चुनावी चर्चामा राजनीतिक दलका तर्फबाट उपमहानगरको नेतृत्व आकांक्षीको पनि चर्चा चल्न थालेको छ।
तत्कालीन गाविसमध्ये बुधनगरका ४ वटा वडा र बैजनाथपुर मिसिएपछि पनि विराटनगर उपमहानगरपालिकामै सीमित भयो। महानगरपालिका घोषणा गर्न जनसङ्ख्याको मात्र आधार नचाहिने सर्वदलीय सहमतिका कारण स्थानीय तहको निर्वाचनलगत्तै विराटनगर महानगरपालिका हुने निश्चितप्राय: छ।
मोरङ मूलतः कांग्रेसको राजनीतिको उर्वर भूमिमा परिचित छ। कोइराला परिवारको राजनीतिक वंशावली मोरङबाटै तयार भएको छ। मोरङले बिपी कोइराला, मातृकाप्रसाद कोइराला र गिरिजाप्रसाद कोइरालालाई राज्यको उच्च ओहोदामा पुर्याएको छ। विराटनगर उपमहानगरपालिकामा बुधनगरका ४ र बैझनाथपुरसमेत गाभिएपछि काङ्ग्रेसकै मत बढेको हिसाब पर्यवेक्षक गर्छन्।
मोरङ कोइराला परिवारको विरासत हो। तर, पछिल्लो वर्षहरुमा कम्युनिस्ट राजनीतिको पकड मोरङमा बढ्दैछ। गत संविधानसभा निर्वाचन मत परिणाम अनुसार मोरङका ९ निर्वाचन क्षेत्रमध्ये चारमा वामपन्थी राजनीतिक दलले विजयी मत पाएका थिए।
दोस्रो संविधानसभामा नौमध्ये पाँच निर्वाचन क्षेत्रमा कांग्रेस, तीनमा एमाले र एकमा तत्कालीन एमाओवादी विजयी भएको थियो।
स्थानीय निर्वाचन सम्पन्न हुने मिति नजिकिँदै गर्दा देशकै सवैभन्दा बढी मतदाता भएको जिल्लाको उपमहानगरको नेतृत्व कसले गर्ला? जनचासो बढिरहेको छ।
कोको हुन् दाबेदार?
नेपाली कांग्रेसबाट नेपाल महिला सङ्घका पूर्व अध्यक्ष डा. डिला सङ्ग्रौला र महिला सङ्घकै पूर्वउपाध्यक्ष रुक्मिनी कोइराला मेयर पदका लागि दाबेदार देखिएका छन्। त्यसपछि विश्वनाथ (त्रिलोचन) रिजाल, भीम पराजुली र नागेश कोइरालाको नाम पनि चर्चामा छ।
सङ्ग्रौलालाई सभापति शेरबहादुर देउवासहित नेताद्वय कृष्ण सिटौला र खुमबहादुर खड्कासमेतको समर्थन छ। बलियो समर्थन हुँदा डिलाको विरोध गर्ने आँट अन्य खेमाले देखाइरहेका छैनन्। मोरङ काङ्ग्रेसमा निर्णायक भूमिका गर्न सक्ने केन्द्रीय सदस्य डा. शेखर कोइराला र पूर्व जिल्ला सभापति एवम् सांसद् अमृत अर्याल दुवैको समर्थन सङ्ग्रौलाको पक्षमा देखिन्छ।
सङ्ग्रौलासँगै राजनीतिक जीवनका ३० वर्ष कोइराला निवासको स्वार्थ र चाहनामा विताएकी अर्की महिला नेतृ रुक्मिनी कोइराला विराटनगरको मेयर लागि आकांक्षी छिन्। तर, उनले परेका बेला कोइराला परिवारको समर्थन कहिल्यै जुटाउन सकिनन्। यो पटक मेयरको आकांक्षा उनको अग्निपरीक्षा बनेको छ।
नेपाली काङ्ग्रेसबाट उपमेयरमा फूलकुमार लालबानी, सुनीता घिमिरे, मन्दिरा गुरागाईं र विजयेता अधिकारी चर्चामा छन्।
‘एमालेको दाउ, लालबाबुको प्रतिष्ठा’
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेमा उपमहानगरको नेतृत्वमा सवैभन्दा बढी चर्चा लालबाबु पण्डितको नाममा छ। सामान्य प्रशासनमन्त्री हुँदा कमाएको इज्जत र प्रतिष्ठालाई पार्टीले विराटनगरको चुनावी दाउमा राख्न खोजिरहेको स्पष्ट देखिन्छ।
‘हामी बुझिरहेका छौँ, जो उठाउँदा विजय सुनिश्चित छ उसैले टिकट पाउनेछ’, एमाले मोरङका अध्यक्ष विनोद ढकालले भने, ‘मेयर र उपमेयर लगायतका सबै पद हाम्रा लागि अर्जुनदृष्टिमा छन्।’
पण्डितको नाम अग्रपङ्क्तिमा आए पनि अध्यक्ष ढकाल र पूर्व जिल्ला अध्यक्ष महेश रेग्मी पनि मेयरका आकांक्षी देखिएका छन्।
मन्त्री हुँदा बनाएको सकारात्मक छविले लालबावुको नाममा सहमति हुने सम्भावना भने देखिन्छ। लालबावुको चुनावी टिकट अन्य दलका लागि समेत भारी पर्ने विश्लेषण मोरङमा राजनीतिक वृत्तमा हुन थालेको छ। लालबाबुको चर्चाले अन्य दलका समेत उम्मेद्वार छनोटमा दबाब परेको छ।
पण्डितले आफ्नो उद्देश्य युवालाई अघि सार्ने भए पनि पार्टीले निर्णय गरेमा मेयरमा प्रतिस्पर्धा गर्ने बताएका छन्। ‘म त, युवा पुस्तालाई नै अघि सारौँ भन्ने पक्षमा छु’, पण्डितले भने, ‘तर पनि पार्टीको निर्णय नै अन्तिम हुन्छ, यसलाई सबैले स्वीकार गर्नैपर्छ।’
एमालेबाट उपप्रमुखमा सावित्रा रेग्मी, विमला घिमिरे, शिल्पा कार्की लगायतका नेतृले दाबी गरिरहेका छन्।
माओवादीका उम्मेदवार यादव र न्यौपाने
नेकपा माओवादी केन्द्रले मेयर र उपमेयरमा क्रमशः भोगेन्द्र यादव र नमिता न्यौपानेलाई अघि सारेको तीन हप्ता भइसकेको छ।
नेपाली काङ्ग्रेसको मुख्य प्रतिस्पर्धी हुन सक्ने सङ्घीय समाजवादी फोरमले पूर्व सांसद् जयराम यादवलाई प्रमुख पदका लागि अघि सारेको छ। मिलनसार, बौद्धिक र सामाजिक स्वभावका कारण पूर्व सांसद् यादव फोरमको सशक्त उम्मेदवारका रूपमा प्रस्तुत छन्।
एमालेबाट लालबाबुको मनोनयन नभए र नेपाली काङ्ग्रेसभित्रको खिचलो न्यून नभएमा जयराम मेयरको ‘हट सिट’मा बस्ने दाबी गर्ने पनि विराटनगरमा प्रशस्त छन्। उपमहानगरमा गाभिएका दुई गाविसले पनि फोरमलाई नै बलियो बनाएको मूल्याङ्कन गरिएको छ।