PahiloPost

Mar 2, 2025 | १८ फागुन २०८१

बाघबाट बच्न चितवनमा ‘लिभिङ विथ टाइगर’



रासस

बाघबाट बच्न चितवनमा ‘लिभिङ विथ टाइगर’
फोटो : सागर गिरी

रत्ननगर (चितवन) : दक्षिण चितवनको माडी नगरपालिका–९ का ईश्वरी बोटसँग विगतमा पक्की खोर नहुँदा चितुवाले खोरबाटै बाख्रा तानेर खाइदिन्थें।

अहिले उनले तारजाली लगाएर आधुनिक खोर बनाएका छन्। 'अहिले मलाई ढुक्क छ, बाघले पनि बाख्रा तान्न सक्दैन’– बोटले भने।

उनकै छिमेकी श्रीमाया बोटले गोबरग्यास प्लान्ट लगाएकी छन्। करिब ६० हजार लगानीमा निर्माण गरिएको गोबरग्यास प्लान्टका लागि उनको आफ्नो खर्च अत्यन्त न्यून भएको छ।

सरकार, लिभिङ विथ टाइगर परियोजना र स्थानीय उपभोक्ता समितिले आर्थिक अनुदान उपलब्ध गराउँदा थोरै खर्चमा उनले गोबरग्यास प्लान्ट लगाउन सफल भए। बायोग्यास बाल्न थालेको तीन महिना भो, यो बीचमा उनलाई जङ्गल पस्नुपरेको छैन। जङ्गल जाँदा हुने वन्यजन्तुको डरसमेत हट्यो।

'घर खर्चका लागि महिनामै कति भारी दाउरा लाग्थ्यो, बाघको डर पनि उस्तै, अहिले ढुक्क छ', गोबरग्यासमा खाना पकाउँदै गरेकी श्रीमायाले भनिन्– 'एक हल गोरुको गोबरले आफ्नो परिवार र खेतालालाई खुवाउँदासमेत बढी हुन्छ'– प्लान्टमा शौचालय पनि मिसाइएको छ।

यी त केही उदाहरणमात्रै हुन्। माडीका अयोध्यापुरीस्थित उक्त गाउँमा अहिले छवटा यस्ता बायो ग्यास प्लान्ट बनिसकेका छन्। बीस वटा सुधारिएका खोर तयार भएका छन्। लिभिङ विथ टाइगर (बाघसँगै बाँचौँ) परियोजनाले उनीहरुलाई खोरका लागि आठ हजार र बायो ग्यासका लागि रु १० हजार सहयोग गरेका छन्।

चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेल यस्ताखाले कार्यक्रमले द्वन्द्व कम गर्न सहयोग पुग्ने बताउँछन्।


बेलायतको चेष्टर जू र डार्विन इनिसिएटिभको सहयोगमा वातावरणीय सुशासन कार्य समट्ठहद्वारा सञ्चालित उक्त परियोजना नेपालको बर्दिया राष्ट्रिय निकुञ्ज र चितवन निकुञ्जको मध्यवर्ती क्षेत्रमा सञ्चालन गरिएको कार्यसमूहका प्रमुख किरण तिमिल्सिनाले बताए।

यसले सन् २०२२ सम्ममा बाघको संख्या दोब्बर पार्ने लक्ष्यलाई पूरा गर्नसमेत सहयोगी भूमिका खेल्ने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell