काठमाडौँ : नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वका लागि भएको मनोनयनमा महासंघको ढुकुटीमा ६० लाख रुपैयाँभन्दा बढी रकम प्राप्त भएको छ। उम्मेदवारले मनोनयनबापत बुझाएको रकमबाट महासंघको ढुकुटीमा ६७ लाख रुपैयाँ प्राप्त भएको हो।
महासंघमा वरिष्ठ उपाध्यक्षको मनोनयन दर्ता गर्न तीन लाख रुपैयाँ तिर्नुपर्छ। त्यसरी शेयर गोल्छा र किशोर प्रधानले बुझाएको शुल्क बापत महासंघले छ लाख रुपैयाँ प्राप्त गरेको छ।
उपाध्यक्षका लागि डेढ लाख रुपैयाँ शुल्क तोकिएको छ। तीन समूहका उपाध्यक्षमा छ जनाको उम्मेदवारी परेको छ। यसबापत महासंघले नौ लाख रुपैयाँ पाएको हो।
जिल्ला नगर समूहमा गोल्छा र प्रधान प्यानलबाट क्रमशः दिनेश श्रेष्ठ र प्रमोद श्रेष्ठले उम्मेदवारी दिएका छन्। उनीहरुबाट महासंघले तीन लाख रुपैयाँ प्राप्त गरेको छ।
वस्तुगत उपाध्यक्षमा चाहिँ दुई प्यानलका एक/एक जना बाहेक स्वतन्त्र उम्मेदवारी समेत परेको छ। गोल्छा प्यानलबाट उमेशलाल श्रेष्ठ, प्रधान समूहबाट शंकरप्रसाद पाण्डेयले उम्मेदवारी दिएका हुन्। अनुपबहादुर मल्लले स्वतन्त्रः उम्मेदवारी दिएका छन्। वस्तुगत उपाध्यक्षको मनोनयन बापत महासंघले साढे चार लाख रुपैयाँ प्राप्त गरेको हो।
एशोसिएट उपाध्यक्षमा भने एक जनाको मात्र उम्मेदवारी परेको छ। गोल्छा समूहका चन्द्र ढकाललाई प्रधानले समेत समर्थन गरेपछि उनी निर्विरोध निर्वाचित भइसकेका छन्। एशोसिएट उपाध्यक्षको मनोनयन बापत महासंघले डेढ लाख रुपैयाँ पाएको छ।
यस्तै ६० सदस्य पदमा १०४ जनाको उम्मेदवारी परेको छ। उनीहरुको मनोनयन बापत महासंघले ५२ लाख रुपैयाँ प्राप्त गरेको हो।
कार्यकारिणी सदस्य भने विभिन्न छ समूहबाट चुनिने प्रावधान छ। त्यसमध्ये सबैभन्दा धेरै १९ जना एशोसिएट समूहबाट चयन हुनेछन्। एशोसिएट सदस्यमा ३१ जनाको उम्मेदवारी परेको छ।
यस्तै जिल्ला तथा नगर समूहबाट १८ जना निर्वाचित हुनेमा २९ जनाको मनोनयन परेको हो। सात प्रदेशबाट एक/एक जना गरी सात जना कार्यसमिति सदस्य निर्वाचित हुनेछन्। त्यस मध्ये १५ जनाको उम्मेदवारी परेको छ। तर, प्रदेश नम्बर तीन र पाँचमा एक/एक जनाको मात्र उम्मेदवारी परेको छ। सबैभन्दा धेरै प्रदेश नम्बर सातमा चार जनाको उम्मेदवारी परेको छ।
वस्तुगत समूहबाट १४ जना कार्यकारिणी सदस्य निर्वाचित हुनेमा २७ जनाको उम्मेदवारी परेको छ। संस्थापक सदस्य र द्विराष्ट्रिय उद्योग वाणिज्य संघबाट एक/एक जना सदस्य चुनिनेमा एक/एक जनाकै उम्मेदवारी परेको छ।