PahiloPost

May 3, 2025 | २० बैशाख २०८२

लोडसेडिङ समाप्त भएको कुलमानको घोषणा, वैशाखदेखि औद्योगिक क्षेत्रमा पनि चौबिसै घन्टा बिजुली



पहिलोपोस्ट

लोडसेडिङ समाप्त भएको कुलमानको घोषणा, वैशाखदेखि औद्योगिक क्षेत्रमा पनि चौबिसै घन्टा बिजुली

काठमाडौँ : नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङ फेरि नदोहोरिने घोषणा गरेका छन्। वैशाखदेखि उद्योग क्षेत्रमा समेत २४ घण्टा बिजुली दिने उनले बताए। वर्षायाम सुरु भएसँगै उद्योगहरुमा हुँदै आएको लोडसेडिङ अन्त्य भइसकेको घिसिङको भनाइ छ।

वर्षायाम मात्र होइन आगामी हिउँदमा समेत लोडसेडिङ हुन नदिने योजना तय गरिएको जानकारी दिँदै उनले भने, ‘आयातका लागि रक्सौल-परवानीपुर र कटैया-कुशाहा प्रशारण लाइन तयार भइ सकेको छ।

प्राधिकरणमा मंगलबार  आयोजित पत्रकार सम्मेलनमा उनले  यी दुई पोइन्टबाट १०० मेगावाट हाराहारी बिजुली ल्याउन सकिने जानकारी दिए। ढल्केबर सबस्टेसन समेत केही महिनामा निर्माण पूरा हुने र त्यसपछि २२० केभिएमा चार्ज हुने उनको भनाइ छ। त्यसबाहेक स्वदेशी आयोजनाबाट समेत २०० मेगावाट हाराहारी बिजुली थप हुनेछ।

निजी क्षेत्रबाट निर्माणाधीन आयोजनाबाट उक्त परिमाणको बिजुली थपिन लागेको हो। त्यसमध्ये ३० मेगावाट बढी बिजुली चालू आर्थिक वर्षमा नै राष्ट्रिय प्रसारण लाइनमा जोडिने उनले बताए।

‘आयात पोइन्टहरु फ्लेक्जिवल भएका छन्,' घिसिङले भने, 'अब लोडसेडिङ चिन्ताको विषय रहेन।’ यसपालि समेत अहिलेसम्मको अवस्थामा प्राधिकरण सोचेभन्दा बढी सफल भएको उनले बताए।

प्राधिकरणले तिहार यता राजधानीमा लोडसेडिङ अन्त्य गरेको थियो। १० कक्षाको बोर्ड परीक्षाको अवसर पारेर देशभरबाट लोडसेडिङ हटाउने ट्रायल सफल भएपछि बिद्युत कटौतीको समस्या नदोहोरिने निश्कर्षमा प्राधिकरण पुगेको हो।

अहिले उद्योगमा साँझ ४ घण्टा बाहेक देशको कुनै पनि भेगमा लोडसेडिङ नरहेको घिसिङले बताए। वैशाखपछि ओद्योगिक क्षेत्रबाट समेत लोडसेडिङ सधैंलाई अन्त्य हुने उनको भनाइ छ।

'अहिले मौसमको कारण बेला बेला बिजुली जाने गरे पनि आपूर्तिमा समस्या छैन,' उनले भने, 'चट्याङ लगायत कारणले ठाउँ ठाउँमा बिजुली जाने गरेको छ, त्यो बिजुली आपूर्तिको कारणले होइन।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell