काठमाडौँ : गत मंगलबार जाजरकोटमा ढुंगाले हानी हत्या गरिएका नेपाली कांग्रेसका युवा नेता रवीन्द्र शाहको हत्या नेत्रविक्रम चन्द ‘विप्लव’का कार्यकर्ताले गरेको प्रहरीले बताएको छ।
जिल्ला प्रहरी कार्यालयले मंगलबार पत्रकार सम्मेलन गर्दै शाहको हत्यामा विप्लवका कार्यकर्ता संलग्न रहेको अनुसन्धानमा देखिएको जानकारी गराएको हो।
प्रहरीले हत्यामा संलग्न ‘शिव’ भन्ने ठगेन्द्रबहादुर सिंह र डिल्ली भन्ने डिलबहादुर रानालाई सार्वजनिक गरेको छ। पक्राउ परेका दुवै विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी जाजरकोट जिल्ला कार्यसमितिका सदस्य छन्।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीका अनुसार पार्टीको निर्देशन नभई व्यक्तिगत रिसइबी र ठेकेदारी विवादको कारण उनीहरुले शाहको हत्या गरेको खुलेको छ।
हत्यामा संलग्न प्रेम ओली, मोहित शाही र दीर्घ नेपाली भने फरार छन्। उनीहरुको खोजी भइरहेको अवस्थीले बताए। हत्या हुनुभन्दा केही समयअघि उनीहरुले चन्दा माग्दै मार्ने धम्की दिएको अनुसन्धानमा खुलेको थियो।
नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघका पूर्व केन्द्रीय सदस्य समेत रहेका शाहले केही समयदेखि जाजरकोट, रुकुम लगायतका जिल्लामा सडक निर्माण लगायतमा ठेकेदारी गर्दै आएका थिए।