राजविराज : सप्तरीको हनुमानगर बजारमा जङ्गली हात्तीको आक्रमणबाट गम्भीर घाइतेमध्ये थप एक व्यक्तिको उपचारको क्रममा आज मृत्यु भएको छ।
मृत्यु हुनेमा हनुमानगर–३ निवासी २६ वर्षीय सञ्जय साफी रहेको प्रहरीले जनाएको छ। योसँगै हात्तीको आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ।
हात्तीको आक्रमणबाट गम्भीर घाइते साफीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको प्रहरी उपरीक्षक अनुराग द्विवेदीले जानकारी दिए। यसअघि मंगलबार नै हात्तीको आक्रमणबाट हनुमाननगरकै रोशनकुमार झाको मृत्यु भएको थियो।
कोसीटप्पु वन्यजन्तु आरक्षबाट आएका जङ्गली हात्तीले हनुमाननगर बजार पसेर आतङ्क मच्चाएको थियो।
त्यस्तै हात्तीको आक्रमणबाट हनुमाननगर–२ का सञ्जीव साह, १४ वर्षीय इस्ताक अली, २५ वर्षीय कालिचरण साह र १५ वर्षीया रवीना खातुन घाइते भएका छन्। घाइतेको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।