PahiloPost

Jun 27, 2025 | १३ असार २०८२

दसैँअघि नै मेलम्चीको पानी भित्र्याउन निर्देशन, चार किलोमिटर सुरुङ निर्माणमा काम धमाधम



रासस

दसैँअघि नै मेलम्चीको पानी भित्र्याउन निर्देशन, चार किलोमिटर सुरुङ निर्माणमा काम धमाधम

काठमाडौँ : व्यवस्थापिका–संसद् लेखा समितिले आगामी दसैँअगावै मेलम्ची खानेपानी आयोजनाको निर्माण सम्पन्न गर्न खानेपानी तथा सरसफाई मन्त्रालय र आयोजनालाई निर्देशन दिएको छ।

समितिको मंगलबार बैठकमा आयोजनाको काममा केही ढिलाइ भइरहेको र तोकिएको समयमा आयोजना सम्पन्न नहुने हो कि भन्ने चिन्ता आमरुपमा आएको भन्दै दसैँअगावै आयोजना सम्पन्न गर्न निर्देशन दिइएको सभापति डोरप्रसाद उपाध्यायले जानकारी दिए।

यस्तै, समितिले आयोजनाको पाइप बिच्छ्याउने क्रममा काठमाडौँ उपत्यकाभित्र भत्काइएको सडक मर्मत नभएको, धुलोका कारण आम जनजीवन प्रभावित भएको तथा सडक मर्मतमा ध्यान नदिएको भन्दै आयोजनाको ध्यानाकर्षण गराएको छ।

समितिले आयोजनाको हालसम्मको आर्थिक अवस्थाको सम्पूर्ण विवरण उपलब्ध गराउनसमेत आयोजनालाई ध्यानाकर्षण गराएको छ भने निर्माण कार्यमा कुनै पनि सर्तमा पछाडि नपार्न र समयमा सम्पन्न गर्नसमेत निर्देशन दिइएको सभापति उपाध्यायले बताए।

खानेपानी तथा सरसफाई मन्त्रालयका सचिव भीमप्रसाद उपाध्यायले दसै अगावै आयोजनाको काम सम्पन्न गरिने र कुनै पनि बहानामा आयोजना पछाडि धकेल्ने काम नहुने प्रतिबद्धता व्यक्त गरे।

उनले आयोजनाको केबल चार किलोमिटर मात्रै सुरुङ खन्ने काम बाँकी रहेको भन्दै ठेकेदारलाई पूर्ण क्षमतामा काम गर्न निर्देशन दिइएको र कामको गति बढेको जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell