काठमाडौं : चैत २४ गते शुक्रबारदेखि ‘आन्दोलन’ सुरु हुने भएको छ। यो आन्दोलन पनि २०६२/६३ को आन्दोलनजस्तै १९ दिनसम्म चल्नेछ। तर सडकमा होइन नाटकघरमा!
काठमाडौं मल सुन्धारास्थित नाटकघर थिएटर मलमा सौरभ कार्कीको योजनामा सुदाम सिकेले ‘आन्दोलन’को नेतृत्व गर्दैछन्।
२०४६ तथा २०६२/६३ को जनआन्दोलन सुरुवात भएको विशेष र ऐतिहासिक दिन चैत २४ बाटै त्यस्तै झल्को दिने नाटक ‘आन्दोलन’को मञ्चन सुरु हुन लागेको हो। नाटक सौरभ कार्कीले लेखेका हुन् भने युवा रंगकर्मी सुदाम सिकेले निर्देशन गरेका हुन्।
आन्दोलनकारी युवाहरुमा भने कलाकारहरु रियर राई, संयोग गुरागाईं, इँगिहोपो कोइँच सुनुवार, सिजन दाहाल, मिलन कार्की, बिनिता गुरुङ र सुदिप खतिवडा छन्। त्यस्तै नेपथ्यमा रहेर सघाउने आन्दोलनकारीहरुमा सुरेश कार्की, रामशरण रेग्मी, घनश्याम श्रेष्ठ, राजेन्द्र भट्ट, अमुल श्रेष्ठ, किरण चाम्लिङ, प्रेम शाक्य, सवनम चौधरीलगायत छन्।
आन्दोलनका क्रममा नाटकघर बाहिर फोटो कलाकार दिपेन्द्र ब्रजाचार्यले २०६२/६३ को आन्दोलनमा खिचेका तस्बिरहरु पनि प्रदर्शन गरिने थिएटर मल नाटकघरका कला निर्देशक केदार श्रेष्ठले जानकारी दिए। उनले थिएटर मलमा राजनीति र समाजसँग जोडिएका नाटकहरु धेरै मञ्चन भए पनि यो विशेष रहेको बताए।
नाटक ‘आन्दोलन’ वैशाख ११ गतेसम्म हरेक साँझ ५:३० बजे र शनिबार दिउँसो १:३० बजे मञ्चन हुनेछ।