लमजुङ (बेसीसहर) : सुरक्षा समितिको आग्रहपछि लमजुङमा २१ जनाले इजाजत प्राप्त हतियार प्रहरीलाई बुझाएका छन्।
स्थानीय तहको निर्वाचनलाई ध्यानमा राखेर जिल्ला सुरक्षा समितिले सम्बन्धित सबैलाई हतियार बुझाउन गरेको आग्रह बमोजिम सम्बन्धित व्यक्तिले आफूलाई पायक पर्ने जिल्लाका विभिन्न प्रहरी चौकीमा उक्त हतियार बुझाएका हुन्।
प्रहरी नायब उपरीक्षक समीरचन्द्र खरेलकाअनुसार प्रहरी चौकी कुन्छामा १८, धमिलीकुवामा एक, गिलुङमा एक र जिल्ला प्रहरी कार्यालयमा एकजनाले हतियार बुझाएका छन्। प्रहरीलाई बुझाइएका हतियारमध्ये सबै भरुवा बन्दुक रहेको प्रहरी नायब उपरीक्षक खरेलले बताए। उनले निर्वाचन सकिएपछि इजाजत प्राप्त ती हतियार सम्बन्धित व्यक्तिलाई नै फिर्ता गरिने बताए।
हातहतियार बुझाउन अटेर गरेमा वा नबुझाएमा सुरक्षाकर्मीले जुनसुकै समयमा पनि हातहतियार खरखजनाअन्तर्गत कारबाही गर्ने सुरक्षा समितिले जनाएको छ।