PahiloPost

Mar 2, 2025 | १८ फागुन २०८१

दाना–कुश्मा विद्युत् प्रसारण लाइन निर्माण सुरु



रासस

बाबियाचौर (म्याग्दी) : म्याग्दीको दानादेखि पर्वतको खुर्कोटसम्म विद्युत् प्रशारण लाइन जोड्न थालिएको छ।

नेपाल विद्युत् प्राधिकरणले कालीगण्डकी प्रशारण लाइन कोरिडोर आयोजनाअन्तर्गत अन्नपूर्ण गाउँपालिकाको दानादेखि कुश्मा नगरपालिकाको खुर्कोटसम्म २२० केभी क्षमताको प्रशारण लाइन जोड्न लागिएको हो।

आयोजनाका इन्जिनियर यादव न्यौपानेले म्याग्दीको पिप्लेबाट प्रशारण लाइन जोड्न लागिएको उल्लेख गर्दै पहिलो चरणमा जग्गा प्राप्तिका लागि सहमति पाएको १२ ठाउँमा टावर निर्माणको काम सुरु भएको बताए।

टावर राख्नका लागि अन्य ठाउँमा नक्साङ्कन गरिएको जग्गा अधिग्रहणको प्रक्रिया सुरु भएको छ। म्याग्दीको दाना, भुरुङ तातोपानी, दोवा, हिस्तान, बेग, भगवती, पिप्ले, पर्वतको बाँसखर्क, माझफाँट, धाइरिङ, नाग्लीवाङ हुँदै खुर्कोटसम्मको ३८ दशमलव ८५ किलोमिटर दुरीमा प्रशारण लाइनको १११ वटा टावर निर्माण हुने भएको छ।

भौगोलिक अवस्थाअनुसार २४ देखि ४३ मिटर अग्लो टावर रहनेछन्। म्याग्दीको उत्तरी क्षेत्र र मुस्ताङमा निर्माण हुने जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत केन्द्रीय प्रशारण लाइनमा जोड्ने उद्देश्यले प्राधिकरणले दाना र खुर्कोटमा यसअघि नै २२० केभी क्षमताको सवस्टेसनको निर्माण सुरु गरिसकेको छ।

सवस्टेसन निर्माणस्थलमा जग खन्ने काम भइरहेको इन्जिनियर न्यौपानेले जानकारी दिए। सवस्टेसन र प्रशारण लाइन निर्माणका लागि सम्झौता गरेको टाटा प्रोजेक्ट एन्ड चिन्ट इलेक्ट्रिकले तीव्रताका साथ काम अघि बढाएको छ।

दुई अर्ब ९० करोड रुपैयाँमा सम्झौता भएको आयोजना विसं २०७५ साउनभित्र सम्पन्न गर्ने लक्ष्य छ। मुस्ताङको टुक्चेमा १४ मेगावाट क्षमताको थापाखोला, म्याग्दीको नारच्याङमा पाँच मेगावाटको घलेम्दीखोला, ४२ मेगावाटको मिस्त्रीखोला आयोजना निर्माणाधिन अवस्थामा छन् भने ४० मेगावाटको राहुघाटलगायत दर्जनांै आयोजना निर्माणको चरणमा छन्।

नवलपरासीको बर्दघाटदेखि म्याग्दीको दानासम्मको १४२ किलोमिटर प्रशारण लाइन निर्माण गर्ने लक्ष्यअनुसार कुश्मादेखि बर्दघाटतर्फ पनि सर्वेक्षणको काम सकिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell