
काठमाडौँ : डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालले स्थानीय तह निर्वाचनलाई मध्यनजर गर्दै नमुना गाउँपालिकाको योजना सार्वजनिक गरेको छ।
निर्वाचनलाई लक्षित गरेर नयाँ शक्तिले तयार गरेको नमुना गाउँपालिकामा प्रत्येक वडामा एउटा बाल उद्यान निर्माण, एउटा ज्येष्ठ नागरिक स्यहार केन्द्र, प्रत्येक वडामा एउटा 'वाइफाई फ्री जोन हुनेछन्। त्यस्तै गाउँपालिकासँग एउटा एम्बुलेन्स, प्राकृतिक प्रकोप उद्धार स्थल, न्युनतम एउटा बैंक राख्ने लगायतका कार्यक्रम छन्।
त्यस्तै प्रत्येक टोलमा खानेपानी ट्याङ्की र घरघरमा शुद्ध खानेपानीको व्यवस्था गर्ने उल्लेख छ। त्यस्तै विद्युत नपुगेको घरमा ९० प्रतिशत सरकारी अनुदान र १० प्रतिशत घरधनीको सहयोगमा सोलारको व्यवस्था गर्ने उल्लेख छ।
नयाँ शक्तिको केन्द्रीय समितिले पारित गरेको निर्वाचन योजना अनुसार प्रत्येक गाउँपालिकामा १ सय र नगरपालिकामा ५ सयलाई विभिन्न क्षमता अभिवृद्धिको काममा लगाउने उल्लेख छ। 'काष्ठ तथा फर्निचर, टेक्सटाइल, मेकानिकल सामग्री, कृषि, औजार, सिमेन्ट, साबुन, इँटा, होटल स्थापना लगायतमा क्षमता अभिवृद्धि गराउने योजना तयार गरेको हो।
पर्यटन विकासमा होमस्टे कार्यक्रम, कृषि विकासका लगि मलखाद, बिउबिजन, कृषि उत्पादन संकलन र बिक्री केन्द्रको स्थापना र सञ्जालन गर्ने उल्लेख छ।
निर्वाचनका तीन रणनीति
नयाँ शक्तिले आफूले जित्न सक्ने गाउँपालिका र नगरपालिकामा सम्पूर्ण शक्ति खर्चने जनाएको छ। त्यस्तै कुनै पार्टीसँग राजनीतिक सहकार्य गरेर सहयोगमा राजनीतिक लाभ लिने र शक्ति सन्तुलन फेरबदल गर्ने नीति तयार गरेको छ। हार्ने क्षेत्रमा भने संगठन सुदृढिकरणमा ध्यान दिने जनाएको छ।