काठमाडौं: नेपालमा बालबालिकाको पहिलो गायन रियालिटी शो ‘पतन्जली सुरशाला आइडल जुनियर’को मुख्य विजेताहरु मङ्गलबार घोषित भए। ग्रान्ड फिनालेमा सिन्धुपाल्चोकका आयुष केसीले पतंजली सुरशाला आइडल जुनियरको उपाधि जितेका छन्। प्रतियोगितामा ईटहरीका प्रीतम आचार्यले दोस्रो र पाटनका स्रजल महर्जनले तेस्रो स्थान हासिल गरेका छन्। स्रजलले पब्लिक च्वाइस अवार्डपनि जितेका छन्। प्रतियोगिता सुरशाला फाउन्डेसन तथा म्युजिक एकेडेमीको संयुक्त आयोजनामा भएको हो।
कक्षा ५ मा अध्ययनरत विजेता आयुष भन्छन्,‘सुरशाला आइडलको उपाधि मेरो सांगीतिक यात्राको पहिलो खुड्किलो मात्र हो। मैले अझ धेरै अघि जानु छ।’
आयुष केसीले पतन्जलिको तर्फबाट ५१ हजार रुपैयाँ तथा सुरशालाको तर्फबाट ५० हजार रुपैयाँ सहित १ लाख १ हजार रुपैयाँ बराबरको गीत, म्युजिक भिडियो र सुरशाला छात्रवृति अवसर प्राप्त गरेका छन्।
उपविजेता बनेपछि खुशी भएका प्रीतमले भने,‘म काठमाडौंबाट टाढा छु, नेपाली फिल्ममा गीत गाउन मन छ',प्रीतम आफ्नो रहर यसरी राख्छन्,‘यदि मेरो स्वर मन परेर फिल्ममा मौका दिनुहुन्छ भने म काठमाडौंमै आएर संघर्ष गर्न तयार छु।'
प्रीतम आचार्यले दोस्रो स्थान हासिल गरी पतन्जलिको तर्फबाट नगद ४१ हजार तथा सुरशालाको तर्फबाट नगद ३० हजारसहित जम्मा ७१ हजार रुपैयाँ तथा गीत, म्युजिक भिडियो र सुरशाला छात्रवृतिको अवसर जितेका छन्।
तेस्रो भएका स्रजल महर्जनले संगीतमै करियर बनाउने निर्णय गरेका छन्। ‘यो प्रतियोगिताले मेरो लागि बाटो बनाइदिएको छ', स्रजल भन्छन्।
स्रजल महर्जनले युट्युबमा सबैभन्दा बढी दर्शक भोट पाएर ‘पब्लिक च्वाइस एवार्ड’ हासिल गरे।
स्रजलले पतन्जलिको तर्फबाट ३१ हजार तथा सुरशालाको तर्फबाट २० हजार तथा गीत, म्युजिक भिडियो र सुरशाला छात्रवृति अवसर हात पारे।