PahiloPost

Mar 2, 2025 | १८ फागुन २०८१

नुवाकोटका एक दर्जन प्रहरी युनिटको पुनःनिर्माण सुरु



रासस

नुवाकोटका एक दर्जन प्रहरी युनिटको पुनःनिर्माण सुरु

नुवाकोट : सशस्त्र दशवर्षे युद्ध र विनाशकारी भूकम्पले क्षति पुगेका नुवाकोटका १२ वटा प्रहरी युनिट पुनःनिर्माण गर्न लागिएको छ।

भूकम्प पछिको पुनःनिर्माण अभियान अन्तर्गत नुवाकोटमा रहेकामध्ये १२ वटा प्रहरी युनिट पुनःनिर्माण सुरु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिए।

'सशस्त्र १० वर्षे युद्धमा ध्वस्त बनेका र विनाशकारी भूकम्पले क्षति पुर्‍याएकामध्ये छ वटा प्रहरी युनिट सरकारी जग्गामा निर्माण गर्न लागिएको छ।' प्रहरी नायब उपरीक्षक कँडेलले भने 'अन्य ६ स्थानमा दाताबाट प्राप्त भएको जग्गा कार्यालयको स्वामित्वमा ल्याएर भवन बनाउने तयारीमा छौँ।'

ट्राफिक प्रहरी कार्यालय र विदुरस्थित अस्थायी प्रहरी पोस्टका साथै देउराली कुमारी र ककनीस्थित प्रहरी चौकी सरकारी जग्गामा निर्माण गर्न लागिएको हो। तीमध्ये कुमरीस्थित प्रहरी चौकीको निर्माण सुरु भइसकेको छ। तारुका, फिकुरी र पाटी–भञ्याङका प्रहरी चौकी तथा ढिकुरेस्थित इलाका प्रहरी कार्यालयका लागि जग्गा दातामार्फत प्राप्त भएकाले निर्माणको प्रक्रियामा अघि बढेका छन्।

सिक्रेस्थित इलाका प्रहरी कार्यालय, समुद्रटारस्थित प्रहरी चौकी र नुवाकोटस्थित जिल्ला प्रहरी कार्यालय अहिले कायम रहेको स्थानमा बनाउन प्राविधिक अध्ययन पूरा भएको छ। नयाँ बनाउन लागिएको भवनमा प्रहरी कार्यालय, आवासीय व्यवस्था, हिरासत, सुरक्षा पोस्ट, भान्साघर, बन्दोबस्ती सहितको व्यवस्था हुने प्रहरी निरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए।

भवन निर्माणको लागि राष्ट्रिय पुनःनिर्माण प्राधिकरण मार्फत सरकारी कार्यालय पुनःनिर्माण कार्यक्रम अन्तर्गत एक युनिटको लागि रु एक करोड ७५ लाखदेखि रु दुई करोड ५० लाखसम्म विनियोजन भएको छ।

सशस्त्र द्वन्द्व र भूकम्पले क्षति पुगेर अस्थायी वासस्थान र भाडाको भवनमा बस्दै आएको प्रहरी चौकी झिल्टुङ, किम्ताङ, मैलुङ र नगरप्रहरी चौकी, कोलनी चौकी निर्माणका लागि जग्गा र बजेट दुवैको अभाव भएको जनाइएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell